अलैँचीको भारत निकासीमा नगद अनुदान

बिर्तामोड– सरकारले अलैँचीको भारत निकासीमा नगद अनुदान दिने भएको भएको छ । आयात प्रतिस्थापनको नीति अनुसार सरकारले पहिलो पटक अलैँचीसहितका पाँचवटा बस्तुको भारत निकासीमा नगद अनुदान दिने व्यवस्था गरेको हो । यसअघि भारतबाहेक अन्य तेस्रो मुलुकमा निकासी गरेबापत मात्रै सरकारले नगद अनुदान दिने गरेको थियो ।

सरकारले अलैँचीबाहेक तरकारी, फूल, सुँठो र जुत्तामा ३ देखि ५ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरेको छ । ‘अलैँची लगायतका कृषिजन्य बस्तुको भारत निकासीमा अनुदान दिने सरकारको निर्णय स्वागत योग्य छ’, नेपाल अलैँची व्यवसायी महासङ्घका महासचिव सुवास भट्टराईले भने, ‘स्वदेशी निकासीजन्य वस्तुको उत्पादन बढाई आयात प्रतिस्थापनका लागि यो व्यवस्था निकै उपयोगी र फलदायी हुने अपेक्षा गरेका छौँ ।’

नेपाल–भारत रेल सेवा सम्झौता संशोधन गर्नका लागि भारतमा भएको तेस्रो विस्तृत पुनरावलोकन बैठकमा नेपाल र भारतबीच पाँच वटा वस्तुको भारत निर्यातमा नगद अनुदान दिने व्यवस्थामा समझदारी भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारीले सरकारले पहिलोपटक भारत निकासीमा नगद अनुदान दिने व्यवस्था गरेको जानकारी दिए । मन्त्रालयका सचिव अधिकारीका अनुसार जुत्तालाई पहिलोपटक सूचीमा समावेश गरिएको हो । यसअघि तेस्रो मुलुक जुत्ता निर्यात हुँदा पनि नगद अनुदानको व्यवस्था थिएन । अब भारतसहित तेस्रो मुलुक निर्यात गर्दा अनुदान पाइन्छ । यसअघि उद्योगी÷व्यवसायीले तेस्रो मुलुक मात्रै नभई भारत निकासी गर्दा पनि नगद अनुदान दिन सरकारसँग माग गर्दै आएका थिए ।

अहिले यस मन्त्रालयले मूल्य अभिवृद्धिका लागि दुईवटा मापदण्ड बनाएको छ । ५० प्रतिशत मूल्य अभिवृद्धि गर्नेलाई ५ प्रतिशत र ३० प्रतिशत मूल्य अभिवृद्धि गर्नेलाई ३ प्रतिशत नगद अनुदान दिने व्यवस्था गरेको छ । अन्य व्यवसायीहरूले पनि सरकारले भारत निकासीलाई पहिलोपटक निकासीको रूपमा लिनु एकदमै स्वागतयोग्य काम भएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका प्रदेश १ का अध्यक्ष नरेन्द्रकुमार खँड्काले पनि सरकारको पछिल्ले नीतिले किसान र व्यवसायीलाई राहत मिल्ने बताए । उनले अरु कृषिजन्य उत्पादनको भारत निकासीमा पनि सरकारले अनुदान दिने व्यवस्था भए आन्तरिक उत्पादन बढाउन सजिलो हुने विश्वास व्यक्त गरे ।

Facebook Comments