झापामा डेङ्गुबाट १२ जना सङ्क्रमित

मेचीनगर– झापामा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । एक सातायता झापाको बिर्तासिटी, मनमोहन, दमक र मेची अस्पतालमा १० जना डेङ्गुका विरामी उपचारार्थ भर्ना भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका महामारी फोकल पर्सन कूलबहादुर पौडेलले सङ्क्रमितको सङ्ख्या बढ्दै गएको बताए । ‘जोखिम बढ्दै गएको छ’, उनले भने, ‘यसका लागि तत्काल नियन्त्रण अभियान सञ्चालन गर्नु पर्छ ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख मधुसुदन कोइरालाका अनुसार झापाको दमक नगरपालिका र कमल गाउँपालिकाले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिसकेका छन् । ‘अरु स्थानीय तहले पनि अभियान सञ्चालन गर्ने जानकारी पाएका छौँ ।’ लामखुट्टे नियन्त्रणका लागि पर्याप्त पहल नभए डेङ्गु प्रकोपका रुपमा फैलिने कोइरालाले बताए ।

मेचीनगरमा पनि दुई जनामा डेङ्गु रोगी भेटिएका छन् । आइतवारसम्म झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या १२ पुगेको छ । मेचीनगर—९ स्थित खुट्टीडाँगीको दुर्गा टोलमा आमा छोरामा डेङ्गुको सङ्क्रमण देखिएको हो । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार सुनसरीको धरानमा अध्ययनमा रहेका बखत २२ वर्षीय छोरालाई डेङ्गु भएको र उनको हेरचाहमा पुगेकी ४९ वर्षीया आमामा समेत डेङ्गुको लक्षण देखिएको हो । पछिल्लो समय सुनसरीको धरानमा प्रकोपको रूप लिइसकेको छ ।

यसअघि जिल्लाको भद्रपुर, विर्तामोड, अर्जुनधारालगायतका पालिकामा ८ जना डेंगु संक्रमण व्यक्ति फेला परेका थिए । मेचीनगर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक शशीकला राईका अनुसार उनीहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । नगरमा डेङ्गु संक्रमित फेला परे लगत्तै मेचीनगर नगरपालिकाले डेङ्गु रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी नष्ट गर्ने अभियान शुरु गरेको छ ।

आइतबार मेचीनगर—९ स्थित खुट्टीडाँगी दुर्गा टोलमा मेचीनगर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक राई सह संयोजक रामनारायण यादव नेतृत्वको जनप्रतिनिधि, आमा समुह, टोल, विकास संस्थाका प्रमुख प्रतिनिधिसहितको टोलीले लार्भा खाजेर नष्ट गर्ने काम शुरु गरेको छ ।

Facebook Comments

Advertisement