झापामा ३२ जनामा डेङ्गु सङ्क्रमण

बिर्तामोड–जेठदेखि धरानबाट सुरू भएको डेंगु पूर्वी तराईका ३ जिल्लामा फैलिदै गएको छ। अझै यो नियन्त्रण हुन सकेको छैन। झापा र मोरङमा दैनिक डेंगुका बिरामीको संख्या बढ्दै गएको छ भने धरानमा क्रमशः घट्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार नियन्त्रणमा नआए पनि न्यूनीकरणको प्रयास जारी छ।

मोरङमा सोमबारसम्म डेंगु देखिएका ३५ जनाको उपचार भइरहेको उनले बताए। मोरङको विराटनगर, सुन्दरहरैंचा, ग्रामथान, उर्लाबारी, केराबारीलगायत स्थानीय तहमा डेंगुका बिरामी भेटिएका छन्। नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले यसअघि नै सबै स्थानीय तहलाई सचेतना र ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान गर्न पत्र पठाइएको उनले बताए।

झापामा पनि डेङ्गु संक्रमण फैलिदै गएको छ । झापामा ३२ जनामा डेङ्गु संक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका महामारी रोग फोकल पर्सन कूलबहादुर पौडेलले बताए । विराटनगर महानगरपालिकाले डेंगु नियन्त्रण गर्न ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान सञ्चालन गरेको छ। डेंगु संक्रमितको उपचारका लागि कोसी अञ्चल अस्पताल र निजी अस्पताललाई तयारी राखिएको जनस्वास्थ्य प्रमुख बस्नेतले बताए।

धरानलाई डेंगु प्रभावित क्षेत्र घोषणा गरेर प्रदेश सरकारले विशेष कार्ययोजनासहित नियन्त्रण गर्न कार्यरत छ। धरानमा बिरामीको संख्या घट्न थालेको धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले बताइन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि एक सातायता बिरामीको संख्यामा कमी आएको छ। तर, प्रतिष्ठानमा झापा र सुनसरीबाट भने डेंगु संक्रमित आइरहेको प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा. विकास साहले बताए।

Facebook Comments

Advertisement