मिनी मेला : प्रहरी संरक्षणमा जुवाजन्य खेल

बिर्तामोड– बिर्तामोडको पश्चिम स्टेण्डमा सञ्चालित मिनी मेलामा खुलेआम जुवाजन्य खेल चलिरहेका छन् । स्थानीय प्रशासनको अनुमति र प्रहरीकै संरक्षणमा चलेको मेलामा ढाइस लगायतका जुवाजन्य खेल निर्वाध खेलाइएको हो ।

पटक–पटक मेलाको म्याद थपिएको छ । जिल्ला प्रशासन कार्यालयले पछिल्लो पटक १५ दिनका मेलाको म्याद थपेको हो । मेला ५ जेठदेखि सुरु भएको थियो । मेला राति ८ बजेदेखि मात्र सुरु हुन्छ । दुई घण्टा सञ्चालन हुने मेलामा प्रहरीले सुरक्षा दिन्छ । प्रहरीका घुमुवा दैनिक पैसा असुल्छन् । र, मेलाबाट बाहिरिन्छन् । स्थानीय प्रशासनले अनुमति दिएका कारण बिर्तामोड प्रहरीले जुवाजन्य गतिविधि चलिरहँदा पनि खासै चासो दिएको छैन । बरु उल्टै उसले राति अबेरसम्म मेलामा सुरक्षा दिँदै आएको छ । केही निश्चित सर्तसहित मेला सञ्चालनको अनुमति दिइएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

‘स्थानीय सरकारबाट सिफारिस लिएर आएपछि मैले केही सर्तसहित निश्चित समयका लागि अनुमति दिएको हो,’ उनले भने, ‘यो मेलालाई निरुत्साहित गर्न सुरुमा प्रयास त गरेँ, तर यसलाई रोक्न धेरै गाह्रो रहेछ ।’ मेला सञ्चालनको अनुमति थप्न केही स्थानबाट दबाब आएको उनको आशय थियो । मेलाको म्याद थप्न राजनीतिक दलका नेताले प्रशासनलाई दबाब दिएको स्रोत बताउँछ । मेलामा जुवाजन्य खेल खेल्न, मादक पदार्थ सेवन गर्न र होहल्ला गर्न नपाइने प्रमुख जिल्ला अधिकारी दाहाल बताउँछन् । तर, यी तीनवटै सर्त बिर्तामोडको मेलामा पालना भएको छैन ।

‘सर्त पलना हुनुपर्छ, पालना भएको छैन भने प्रहरीले बन्द गर्नुपर्छ,’ प्रजिअ दाहालले भने, ‘जुवाजन्य खेल त खेलाउनै पाइँदैन, म प्रहरीलाई भन्छु, यो रोक्ने काम प्रहरीको हो ।’ इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मोहन थापाले मेलाका विषयमा आफूलाई जानकारी नभएको बताए । ‘अब बुझेर म त्यसलाई बन्द गर्छु,’ उनले भने । शान्ति समूह नेपाल सुधार केन्द्रको आयोजनामा ‘बिर्तामोड रमाइलो रिमझिम मेला’ सञ्चालनमा आएको हो । आयोजकले स्टेजमा टाँसेको ब्यानरमा चर्चित हास्य कलाकारहरु विल्सनविक्रम राई ‘तोक्मे बुढा’, सिताराम कट्टेल ‘धुर्मुस’, केदार घिमिरे ‘माग्ने बुडा’, गायकहरु शिव परियार, प्रमोद खरेल, सुगम पोखरेल लगायतको तस्बिर टाँसेर दर्शक भेला गरिन्छ । तर, यीमध्ये कोही पनि गायक तथा कलाकारसँग आयोजकले सम्पर्क नै गरेको छैन ।

Facebook Comments

Advertisement