भोजपुरमा गोली हानाहान : प्रहरीसहित दुई जनाको मृत्यु

भोजपुर– भोजपुर सदरमुकाममा आज बिहान गोली हानहान हुँदा प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीबीच गोली हानहान भएको हो ।

‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले हानेको गोली लागेर प्रहरी जवान सञ्जीव राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । खोटाङ घर भएका राई प्रहरीका घुमुवा हुन् । भोजपुर सदरमुकामको शनिबारे हटिया लाइनमा रहेको पान्धारे होटल नजिक आज विहान नौ बजेतिर गोली चलेको हो ।

प्रहरीको जवाफी फायरिङका क्रममा विप्लवका एक कार्यकर्ताको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । सदरमुकाममा विप्लव कार्यकर्ता हतियारसहित प्रवेश गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीमाथि विप्लव कार्यकर्ताले सुरुमा गोली प्रहार गरेका थिए । विप्लव कार्यकर्ताको गोली लागेर प्रहरी जवान राईको मृत्यु भएको भोजपुरका प्रमुख जिल्ल अधिकारी नुरप्रसाद खतिवडाले जानकारी दिए । मृत्यु हने विप्लव कार्यकर्ता ओखलढुङ्गा जिल्ला इन्चार्ज निरकुमार राई रहेको खुलेको छ । प्रहरीले उनको साथबाट एक थान चाइनिज पेस्तोल र पाँच राउन्ड गोली बरामद गरेको छ ।

Facebook Comments

Advertisement