भद्रपुर नगरपालिकाको नीति कार्यक्रम तथा बजेट सार्वजनिक

गंगा बराल
भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले आर्थिक वर्ष ०७६÷०७७ का लागि चौथो नगरसभाले पारित गरेको नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । जिल्ला समन्वय समिति झापाको सभाकक्षमा आयोजित एक समारोहका बीच नगरपालिकाले नीति तथा कार्यक्रमसहित ७१ करोड ४१ लाख ९५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । समारोहका प्रमुख अतिथि झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सांसद पूर्वमन्त्री सुरेन्द्र कार्की, प्रदेशसभा सदस्यहरु गोपाल बुढाथोकी, वसन्त बानियाँ र ओमप्रकाश सरावगीले संयुक्त रुपमा नीति कार्यक्रम तथा बजेट पुस्तिका सार्वजनिक गरे ।

समारोहका प्रमुख अतिथि सांसद कार्कीले भद्रपुर नगरपालिका ऐतिहासिक नगरपालिका भएकोले यसको ऐतिहासिकताकै आधारमा विकासका योजनाहरुलाई अघि बढाउन सुझाव दिए । वर्तमान राज्यव्यवस्था समाजवादउन्मूख व्यवस्था भएकोले योजनाहरु कार्यान्वयनमा अधिकतम जनसहभागिता गराउन उनले सुझाव दिएका छन् ।
नगरपालिकाले बजेट सार्वजनिकीकरणको अवसर पारेर भद्रपुरमा बसेर पाँच दशकदेखि पत्रकारिता गर्दै आएका दैनिक विवेचनाका संस्थापक सम्पादक अग्रज पत्रकार तथा साहित्यकार नकुल काजी पाण्डेलाई पत्रकारिता दीर्घसेवा सम्मानद्वारा सम्मानित गरिएको थियो भने उदीयमान पत्रकारिता पुरस्कारबाट वरुण साप्ताहिकका धर्म राईलाई पुरस्कृत गरिएको थियो । दीर्घसेवा सम्मानको राशी १५ हजार रहेको छ भने उदीयमान पत्रकारिता पुरस्कारको राशी १० हजार रहेको छ । समारोहमा सम्मानित काजीको जीवनी अडियोबाट प्रस्तुत गरिएको थियो ।

यसैगरी, नगरपालिकाले नगरको विकासमा योगदान पुर्याउने विभिन्न क्षेत्रका व्यक्तित्वहरु, वडा कार्यालय तथा आधारभूत स्वास्थ्य केन्द्रका लागि जग्गा दान गर्ने जग्गादाताहरुलाई सम्मान गरिएको थियो भने नगरपालिकाका उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो । सम्मानित हुने जग्गादातामा भद्रपुर १ का कपिलमुनि खरेल, वार्ड नं २ का रमला अधिकारी, तारा अधिकारी, दिपा लिङदेन, शिवप्रसाद अधिकारी, मिहिनप्रसाद लिम्बू, इश्वरीप्रसाद गिरी, रामप्रसाद बजगाईं, भद्रपुर ६ का राजेश्वर आचार्य, ७ नं वडाका कुमार ओझा, अच्यसतराज पोखरेल र विकाससिंह राजवंशी, र वडा नं १० का लेखनाथ निरौला र सुरेश सरिया रहेका छन् ।

कर्मचारीतर्फ पूर्वाधार विकास शाखाकका नासु प्रमोद प्रधान, वडा नं १० का वडासचिव मनकुमार डाँगी, अवकाशप्राप्त प्रशासकीय अधिकृत सुधा रञ्जितकार र विषयगत शाखातर्फ स्वास्थ्य शाखाका पुस्कर निरौलालाई जनही पाँच हजार नगदसहित पुरस्कृत गरिएको थियो । समारोहमा सम्मानितहरुको तर्फबाट पत्रकार नकुल काजी, प्रदेश सांसद वसन्त बानियाँ, ओमप्रकाश सरावगी, नेकपाका जिल्ला सदस्य तथा भद्रपुर नगर इञ्चार्ज असारु राजवंशी, नगर अध्यक्ष शिवकुमार राजभण्डारी, राप्रपाका नगर सचिव कुसुम भट्टराईलगायतले मन्तव्य राखेका थिए ।

सार्वजनिक गरिएको बजेट अनुसार ११ करोड ९७ लाख २२ हजार चालु तथा प्रशासनिक खर्चमा छुट्याइएको छ भने बाँकी पूँजीगत खर्च रहनेछ । नगरपालिकाले आन्तरिक आय, वित्तीय समानीकरण तथा राजश्व बाँडफाँडबाट ४७ करोड १५ लाख ३७ हजार आय हुने र संघीय तथा प्रदेश सरकारबाट सशर्त अनुदान २४ करोड २६ लाख ५८ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । चालु आ. व. को तुलनामा आगामी वर्षका लागि ११ करोड रुपैयाँ बढीको बजेट प्रस्ताव गरिएको छ ।

बजेटलाई विभिन्न शीर्षकमा बाँडफाँड गरिएको छ । आर्थिक विकासतर्फ १ करोड ९४ लाख ४६ हजार, सामाजिक विकासतर्फ २२ करोड ९५ लाख १८ हजार, पूर्वाधार विकासमा ३१ करोड १७ लाख २१ हजार, वातावरण विकासतर्फ ६३ लाख ३६ हजार, संस्थागत तथा सेवा प्रवाह विकासमा ६४ लाख ५० हजार, अन्य पूँजीगत खर्चमा २ करोड १० लाख विनियोजन गरिएको छ । नगरप्रमुख श्रेष्ठले चालु आ. व. मा विनियोजित बजेटको झण्डै ८० प्रतिशत प्रगति हासिल भएकोमा आगामी वर्ष शतप्रतिशत पुर्याउने गरी काम गरिने बताएका छन् ।

Facebook Comments

Advertisement