अन्नपूर्ण गोल्डकप: युनाइटेड सेमिफाइनमा, भोलि नेपाल आर्मी र सिक्किम भिड्ने



गोर्खा ब्वोइज स्पोर्टस् क्लब बुटबललाई टाइब्रेकरमा पराजित गर्दै काठमाडौंको चर्च ब्वोइज युनाइटेड अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिहीबार भएको अन्तिम क्वाटरफाइनल खेलमा ४–२ गोलले गोर्खा ब्वोइजलाई पराजित गर्दै युनाइटेडले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। निर्धारित ८० मिनेटको खेलमा दुवै टोलीले समान १–१ गोल गरेका थिए।

पहिलो हाफ गोलरहित बराबरी खेलेको दुवै टोलीका लागि दोस्रो हाफमा गोल भएको थियो। गोलको खाता चर्च ब्वोइजले खोलेको हो। दोस्रो हाफको २१औँ मिनेटमा चर्च ब्वोइजका कप्तान सन्तोष न्यौपानेले गोल गरे।

चर्च ब्वोइजका एलन मगरले मिलाइदिएको लङ पासमा गोर्खा ब्वोइजका गोलरक्षक सुजित गुरुङलाई बिट गर्दै सन्तोष न्यौपानले गोल गरेका हुन्।

तर, चर्च ब्वोइजको यो खुशी २ मिनेट टिक्न सकेन। लगत्तै गोर्खा ब्वोइजका रुमेश बाँस्तोलाले गोल गरेर खेललाई बराबरीमा ल्याए। विपक्षी गोलपोस्ट नजिक पुगेका उनले सहजै गोल गरेका थिए।

यसअघि चर्च ब्वोइजले थुप्रै अवसर खेर फालेको थियो। प्रतिस्पर्धात्मक खेलमा चर्च ब्वोइजका कैलाश बस्नेतको प्रहार गोर्खा ब्वाइजका गोलरक्षक सुजितले उत्कृष्ट बचाउ गरेका थिए।

त्यस्तै, दोस्रो हाफको १३औँ मिनेटमा चर्च ब्वोइजका सुनिल खड्काले गोल गर्न सकेनन्। कप्तान सन्तोषको कर्नर प्रहारमा पाल्साङ लामाको हेड थोरै माथिबाट बाहिरिएको थियो।

गोर्खा ब्वोइजका दीपक राईले खेलको ३२औँ मिनेटमा गोल गर्ने अवसर गुमाएका थिए। विपक्षी गोलरक्षक विनय श्रेष्ठसँगको वान भर्सेज वानमा दिपक गोल गर्न चुकेका थिए।

निर्धारित समयमा खेलको निर्णय नभएपछि टाइब्रेकर रोजिएको थियो। जसमा चर्च ब्वोइजका उमेश राई, राजेन्द्र रावल, कैलाश बस्नेत र पाल्साङ लामाको प्रहार गोलमा परिणत भएको थियो।

गोर्खा ब्वोइजका तर्फबाट रुपेश केसी र दीपक राईको प्रहारमात्र गोलमा परिणत भएको थियो। बुद्ध चेम्जोङ र मनोज श्रेष्ठको प्रहार चर्च ब्वोइजका गोलरक्षक विनय श्रेष्ठले बचाउ गरेका थिए।

टाइब्रेकरमा उत्कृष्ट प्रदर्शन गरेका चर्च ब्वोइजका गोलरक्षक विनय श्रेष्ठ खेलको म्यान अफ दी म्याच घोषित भए। उनले नगद १० हजार प्राप्त गरे।

१० वटा टिम सहभागी गोल्डकपमा शुक्रबार नेपाल आर्मी क्लब र पाहुना टोली सिक्किम आक्रमण एफसीबीच पहिलो सेमिफाइनल खेल हुनेछ। गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजारसहित ट्रफी पाउनेछ।