जथाभावी विद्युतीय तारबार : मानवीय क्षतिको जोखिम




झापा– हात्ती नियन्त्रणका नाममा जथाभावी विद्युतीय तारबार लगाउँदा झापामा मानवीय क्षतिको जोखिम बढ्दै गएको छ । विद्युतीय तारवारमा परेर एकपछि अर्को दुर्घटना हुँदा मान्छेको ज्यानै गएको हो । हात्ती नियन्त्रणको विकल्प भनिए पनि प्राविधिक जाँच र सरोकारवाला निकायको अनुमति बेगर सामुदायिक वन र समुदायले विद्युतीय तारवार लगाउँदै आएका छन् ।

सौर्य प्रणालीमा आधारित विद्युतीय तारवारको सट्टा विद्युत करेन्ट प्रवाह भएको तारवार लगाउँदा झापामा मानवीय क्षति बढ्दै गएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । डिभिजन वन प्रमुख विष्णुलाल घिमिरे भन्छन्, ‘गैरकानुनी ढङ्गले भएको विद्युतीय तारवार हटाउनुको विकल्प छैन । नभए करेन्ट लागेर मान्छे मर्ने क्रम रोकिँदैन ।’ साँझदेखि विहानसम्म करेन्ट छोड्ने गरिएकाले राति हिँडडुल गर्ने जो कोही करेन्ट लागेर दुर्घटनामा पर्न सक्छन् ।

पछिल्लो अढाई महिनामा विद्युतीय तारबारमा तीन जनाको मृत्यु ।
करेन्ट लगाएर हात्ती मार्ने क्रम रोकिएन ।

शनिवार मात्रै झापाको बुद्धशान्तिमा स्थानीय नवज्योति सामुदायिक वनले लगाएको विद्युतीय तारवारमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको थियो । घटनामा बुद्धशान्ति गाउँपालिका–४ का १८ वर्षीय अभिनास राई र भोजपुर साल्पाचुली गाउँपालिका–५ का ३५ वर्षीय मणिराम राईले ज्यान गुमाएका हुन् । झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले विद्युतीय तारवारमा परेर उनीहरुको ज्यान गएको बताए ।

‘अवैधरुपमा भइरहेको तारवार अविलम्व नहटाए मानवीय क्षति अझै बढ्छ’, उनले भने, ‘यस विषयमा सरोकारवाला सबैको ध्यानाकर्षण गराउँछौँ ।’ पोखरीमा माछा मार्ने क्रममा उनीहरू बिजुलीको तारमा परेको प्रहरी अनुमान छ । सरकारले केही व्यवस्था नगरिदिएपछि गाउँले मिलेर तारबार लगाएको नवज्योति सामुदायिक वनका उपाध्यक्ष महेशकुमार लिम्बू बताउँछन् ।

विद्युतीय तारबारको करेन्ट लागेर मेचीनगर–९ मागुरमाडीका गंगा थपलियाले पनि साउन अन्तिमसाता ज्यान गुमाएका थिए । अघिल्लो वर्ष सोही ठाउँमा विद्युतीय तारवारमा करेन्ट लागेर एउटा हात्ती मरेको थियो । गत असारमा हल्दिबारी–३ को रनकाली सामुदायिक वनमा पनि एउटा हात्ती करेन्ट लागेर मरेको डिभिजन कार्यालयले जनाएको छ । ‘अवैधरुपमा गरिएको विद्युतीय तारवारका कारण हात्ती र मान्छे दुबै मर्ने क्रम बढेको छ’, वन प्रमुख घिमिरे भन्छन्, ‘तारवार नै लगाउने हो भने सौर्य प्रणालीमा आधारित हुनुपर्छ ।’

हात्ती आक्रमणका कारण मानवीय क्षति बढेपछि झापामा मानव हात्ती द्वन्द्व उत्कर्षमा छ । मान्छेले हात्ती मार्ने अभियान चलाएका छन् । हात्तीको उपद्रोबाट आजित भएकाहरुको आक्रोस विद्युतीय तारवार भएको डिभिजन प्रमुख घिमिरे बताउँछन् । बालीनालीमा हुने सम्भावित जोखिम कम गर्न पनि समुदायको पहलमा जताततै विद्युतीय करेन्ट प्रवाह गरिएको छ । बर्सेनि हात्ती आक्रमणमा मारिने बढ्दै छन् । २०६७ साल यता झापामा हात्ती आक्रमणमा परी ३९ जनाको मृत्यु भएको डिभिजन वन कार्यालयको तथ्याङ्क छ । पछिल्लो एकदशकमा छावासहित ११ वटा हात्ती मारिएका छन् ।