भारतले निकालेको नक्सामा आपत्ति छ : प्रचण्ड



नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले निकालेको नयाँ नक्साबारे आपत्ति जनाएका छन्। भौगोलिक अखण्डता र सार्वभौमिकतामा नेकपा लचिलो नहुने भन्दै नक्सामा पुनः विचार गर्न उनले आग्रह गरेका छन्। ‘पार्टी र सरकारले पनि आधिकारिक धारणा सार्वजनिक गरेको छ। जुनखालको नक्सा सार्वजनिक भएको छ, त्यो नेपाललाई मान्य छैन। सरकारले पनि कूटनीतिक तवरबाट कुरा राख्छ र हाम्र्रो यसमा गम्भीर आपत्ति छ। यो बिषय सच्याईनुपर्छ,’ उनले भने, ‘लिपुलेकको कुरा भारत र चीनको सहमति भएको कुरा आउँदा संयोगबश म भारत भ्रमणमा थिएँ। उतिबेलै त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग यो गलत भएको छ, पुनःविचार गरिनुपर्छ भनेको थिएँ। अहिले त झन् कालापानी सप्पै नै नक्साभित्र पारिसकेपछि यो नेपाललाई सह्य हुन सक्दैन।’

उनले मुलुकको सार्वभौमिकता र राष्ट्रिय अखण्डताका विषयमा सिंगो राष्ट्र एक ढिक्का भएको बताउदै नेपालको भौगोलिक अखण्डताको बारेमा, नेपालको राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्ताको बारेमा कहिँ कतै कम्परमाईज गर्ने वा लचिलो नबन्ने प्रस्ट पारे। पोखरामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले प्रदेश प्रमुख हेरफेरको कुरा चुनावी आचारसंहिता भित्र नपर्ने उनको भनाई छ। ‘आचारसंहितासँग सम्बन्धित कुरा नै होईन। निर्वाचन सँग सम्बन्धित कुरो नै होईन। प्रदेश प्रमुख भनेको सरकारको प्रतिनिधिको रूपमा प्रदेशमा काम गर्ने कुरा हो,’ उनले भने, ‘नैतिक र राजनीतिक दुवैे दृष्टीले प्रदेश प्रमुखले राजीनामा दिएर नयाँ सरकारलाई आफू अनुकुलको प्रमुख चुन्ने बाटो खुला गरिदिनुपथ्र्यो। हामीकहाँ त्यो राजनीतिक संस्कार प्रदर्शन हुन सकेन।’ उनले सरकारले दुई तिहाईका साथ आईसकेपछि प्रदेशप्रमुख राखिराख्नुपर्ने नभएपनि उदार भएका कारण दुई वर्षसम्म राखेको जिकिर गरे।

कास्की २ को उपनिर्वाचनको तयारी स्वरुप कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा आईपुगेका प्रचण्डले चुनावमा खटेर नयाँ सन्देश स्थापित गर्न कार्यकर्तासँग अनुरोध गरेका छन्। ‘निर्वाचन सम्पन्न भएर परिणाम ननिस्किने बेलासम्म तपाईंहरु एक ढिक्का भएर, रातदिन खटेर नेपाल कम्युनिस्ट पार्टी अझ बढी लोकप्रिय भएर अगाडी बढेको छ भन्ने शक्तिशाली सन्देशसहित हामी अगाडी बढ्ने छौं,’ कार्यकर्तालाई निर्देशन दिदै उनले भने। प्रचण्डले कास्की २ की उम्मेदवार विद्या भट्टराईलाई विजयको शुभकामना दिए। उनले बागलुङ २ ९ख० मा उम्मेद्वारी दिएका नेकपाका बागी उम्मेदवार शेरमान घर्ती मगरलाई १–२ दिनमै फिर्ता बोेलाउने बताए।