अन्तुपोखरीमा डुंगा सञ्चालनमा रोक



इलाम सूर्योदय नगरपालिकामा रहेको अन्तुपोखरीमा डुंगा सञ्चालनमा रोक लगाइएको छ । नगरपालिकालाई आम्दानी नभएको भन्दै नगर कार्यपालिकाको बैठकले डुंगा सञ्चालनमा रोक लगाएको हो । नेपालकै प्रमुख पर्यटकीय गन्तव्यहरूको सूचीमा रहेको सूर्योदय नगरपालिका–४ श्रीअन्तुमा रहेको अन्तुपोखरीमा मंगलबारदेखि डुंगा चलाउन रोक लगाइएको छ । पाँच वर्षभन्दा अघिदेखि अन्तुपोखरीमा पुगेका पर्यटकलाई डुंगा सयर गराइँदै आएको भए पनि अहिले आएर सूर्योदय नगरपालिकाले त्यहाँ डुंगा चलाउन रोक लगाएको हो । नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले अन्तुपोखरीमा अहिले सञ्चालन गरिँदै आएको डुंगा रोक्ने निर्णय गरेको हो ।
नगरपालिकाका अनुसार अन्तुपोखरी सार्वजनिक स्थल भएकोले त्यहाँ डुंगा चलेर त्यसबाट नगरपालिकाको आम्दानी नदेखिएकाले रोक लगाइएको हो । नगरपालिकासँग सम्झौता गरेर नगरपालिकाको मातहतमा डुंगा सञ्चालन गर्ने ब्यवस्था नहुञ्जेलसम्मका लागि डुंगा चलाउन रोक लगाइएको नगर प्रमुख रणबहादुर राईले बताएका छन् ।