दोमुखाबाट दुई सय क्यूफिट गोलिया बरामद




प्रहरीले झापाको दोमुखाबाट गोलिया काठ बरामद गरेको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर १० दोमुखाबाट इलाका प्रहरी कार्यालय झिलझिलेको प्रहरी टोलीले बुधबार दिउँसो २०२.९१ क्यूफिट परिमाणको काँचो सखुवाको गोलिया बरामद गरेको हो । दोमुखास्थित कनकाई नदीको पश्चिम तटीय क्षेत्रमा स्थानीयले एकाबिहानै बेवारिसे गोलिया देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी त्यहाँ पुग्दा तस्करले उक्त गोलिया उठाउने चाँजोपाँजो मिलाउँदै गरेको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार उक्त काठ तस्करले दक्षिण इलामको माई नगरपालिकाको वन क्षेत्रबाट ल्याएका हुन् । प्रहरीले १५ थान गोलिया बरामद गरेको हो । बरामद गरिएका काठमध्ये ४ वटा पुराना र ११ वटा काँचो गोलिया रहेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ । झापा प्रहरी प्रमुख दिनेश मैनालीले बरामद गरिएको गोलियाको बजार मुल्य १२ लाख बराबरको रहेको बताए । बरामद काठ प्रहरीले सेक्टर वन कार्यालय सुरुङ्गामा बुझाएको छ ।