पार्क निर्माणका नाममा बजेट सक्ने होड



ओखलढुङ्गा – जिल्लामा पार्क निर्माणको होडबाजी छ । भएका पार्क पनि अधुरा र अलपत्र छन् । बजेट अभावमा तिनको व्यवस्थापन हुन सकिरहेको छैन । सिद्धिचरण नगरपालिकाभित्रै सहिद पार्क, सिद्धिचरण पार्क, श्रष्टा पार्क, मन्चने पार्क, नगर पार्क रहेका छन् । यसबाहेक नगरपालिकाले गतवर्ष लगलगेमा भ्यू टावर निर्माण गरेको छ । त्यो पनि बजेट अभावका कारण पूरा हुन सकेको छैन ।

एउटै पार्कमा एक करोडभन्दा बढी रकम खर्च भइसकेको छ । तर, ती पार्क नाम मात्रका छन् । पूर्व योजना र आवश्यकताका आधारमा भन्दा पनि बजेट सक्नका लागि बनाइएका पार्कको खासै उपयोगिता नदेखिएको स्थानीय नरेश नेम्वाङ बताउँछन् । निर्माणाधीन अवस्थाका पार्कलाई नमुनाको रुपमा निर्माण गर्न सके नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर आम्दानीको स्रोत समेत बनाउनसक्ने सम्भावना छ । तर केन्द्र, प्रदेश र स्थानीय गरी तीनै तहको लगानी भएका पार्कलाई पूर्णता दिनेतर्फ सरोकारवाला निकायको ध्यान गएको देखिँदैन ।

उपप्रमुख इच्छाकुमारी गुरुङ

सिद्धिचरण नगरपालिकाकी उपप्रमुख इच्छाकुमारी गुरुङ पार्कको पूर्णताका लागि प्रदेश सरकारसँग पनि बजेट माग गरिएको बताउँछिन् । ‘सबै पार्कलाई व्यवस्थित र आकर्षक बनाउने योजना विस्तारै पूरा हुन्छ’, उनले भनिन्, ‘प्रदेश सरकारसँग बजेट मागेका छौँ । भ्यू टावरको बजेट आइसकेको छ ।’

पर्यटन वर्ष २०२० नजिकिँदै गर्दा ओखलढुङ्गामा पर्यटक भित्र्याउने किसिमका कुनै पूर्वाधार निर्माण भएका छैनन् । पर्यटनको प्रचुर सम्भावना रहेर पनि ओखलढुङ्गामा पर्यटन क्षेत्रको विकासले गति लिन सकेको छैन । बनाउन थालिएका पार्क पनि काम सम्पन्न नगरी लथालिङ्ग छोडिएका छन् ।