सुकिलुम्वा विमानस्थलको काम तीव्र




इलाम–इलाम नगरपालिका–९ स्थित सुकिलुम्बामा निर्माणाधीन बिमानस्थल एक वर्षभित्रै निर्माण पूरा हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले बिमान सञ्चालकसँग समन्वय गरेर त्यसपछि इलामको बिमानस्थलमा उडान भर्न सक्ने निर्माणमा संलग्न सरोकारवालाले बताएका छन् ।

अहिलेको लक्ष्य र कामको प्रगतिअनुसार नै निरन्तरता पाउने हो र बिमानस्थल सञ्चालनमा ल्याउने हो भने इलामबाट नै प्लेन चढ्ने सपना एकवर्षभित्रै पूरा हुने भएको हो । गतवर्ष प्राविधिक परीक्षण उडान गरिएपछि चर्चा सेलाएको यो सुकिलुम्बा विमानस्थलको स्तरोन्नति गरी धावनमार्गमा कालोपत्रे गर्न शुरु भएको छ ।

पटक–पटक गरी हाल सम्म करिव २८ करोड रुपैयाँ खर्च भएको बिमानस्थलमा थप पुर्वाधार निर्माण शुरु भएको हो । साढे नौ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको विमानस्थलको धावन मार्गमा कालोपत्र निर्माण २०७७ असोज सम्ममा सम्पन्न गर्ने र पुनः परीक्षण उडान गरिने फाल्गुनन्द सुकिलुम्बा विमानस्थल आयोजना प्रमुख विनायक भट्टराईले जानकारी दिए ।

इलाम नगरपालिका–९ गोलाखर्कमा २०६८ सालदेखि निर्माण शुरु भएको सुकिलुम्बा विमानस्थलको यो वर्ष धावन मार्ग, ट्याक्सी वे, आसपाल कङ्क्रिट, मेशिनरी, ग्यावियन, माटो कटिङ, फिलिङको काम धमाधम भइरहेको छ । पक्की ६७० मिटर लम्बाई र २० मिटर चौडाइ भएको पक्की रनवे निर्माण हुन लागेको छ । निर्माण कम्पनी आशिष, आशिर्वाद स्वामीनारायण जेभीले ठेक्का सम्झौता अवधि अगावै निर्माण सकिने जनाएको छ । बिमानस्थलमा टावर, टर्मिनल लगायतका संरचनामा थप बजेटको आवश्यकता रहेको छ ।