बिरीङ खोलामा २३ करोडमा ‘चेक ड्याम’ बन्दै




खुदुनावारी–झापाको अर्जुनधारा नगरपालिका–१ स्थित विरिङ खोलामा ‘चेक ड्याम’ निर्माण गरिने भएको छ । त्यसका लागि बीएमएस नेपाल प्रालिले डिपिआर तयार पारेको छ । डिपिआरमाथि प्रालिले आइतवार नगरपालिकाको कार्यालयमा सरोकारवालासँग छलफल गर्यो । १ सय ९५ मिटर लम्वाई रहने सो ड्यामको चौडाई २८ मिटर, उचाई जमिन माथि ४.५ र जमिनमुनि २.२ मिटर रहने प्रालिका सिभिल इन्जिनर पोषण ढुङ्गानाले जानकारी दिए । ड्याम निर्माण भएपछि किसानलाई पर्याप्त सिंचाई सुविधा उपलब्ध हुनेछ ।

नगरको १, ४ र ७ नम्वर वडामा ड्याम निर्माणपछि खानेपानीको सुविधा पुर्याउने लक्ष्य नगरपालिकाले लिएको छ । ड्यामको अनुमानित लागत २३ करोड ५७ लाख ६७ हजार ८ सय १० रुपैयाँ रहेको प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले जानकारी दिए । कार्यक्रम नगरकी उपप्रमुख कमला खतिवडाको अध्यक्षतामा भएको थियो ।