झापामा ६ जनामा स्क्रव टाइफसको सङ्क्रमण




झापा–मुलुकका ६३ जिल्लामा स्क्रब टाइफस संक्रमण भएको छ । झापामा पनि यसको सङ्क्रमण बढ्दै गएको छ । अहिलेसम्म झापामा ६ जनामा सङ्क्रमण भेटिएको छ । इलाममा १६ जना पीडित भएका छन् । सङ्खुवासभामा १२ जना र धनकुटामा ७ जनामा सङ्क्रण भेटिएको इपिडिपियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएका छ । प्रदेश १ मा ५७ जना स्क्रब टाइफस संक्रमणबाट पीडित छन् ।

महाशाखाका अनुसार साउन १ देखि कात्तिक १७ गतेसम्ममा १ हजार २ सय ७१ जनामा स्क्रब टाइफस देखिएको छ । सबैभन्दा बढी प्रदेश ५ मा ४ सय ६७ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा १६ जना छन् । स्क्रब टाइफस संक्रमण हुनेमा प्रदेश ३ मा ३ सय ७८, सुदूरपश्चिम प्रदेशमा २ सय ५५, गण्डकी प्रदेशमा ७६ र प्रदेश २ मा २२ जना छन् । स्क्रब टाइफस माइट नामक जीवाणुबाट संक्रमण हुन्छ । माइट जीवाणु खेतबारी, वनजंगल, चउर र घरवरिवरि झाडी भएका पाइन्छ । यसबाट जोगिन खेतबारीमा काम गर्दा वा झाडी र जंगलमा जाँदा शरीर डाक्ने कपडा लगाउनुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ शेरबहादुर पुन बताउँछन् ।

पुनका अनुसार चौर वा बारीमा बस्दा गुन्द्री ओछ्याएर बस्ने, सकेसम्म भुइँमा नबस्ने, मुसा नियन्त्रणका लागि उपयुक्त अन्न भण्डारण गर्ने गर्नुपर्छ । अचानक उच्च ज्वरो आउने, टाउको दुख्ने, शरीरमा बिमिरा देखिने, आँखा रातो हुने, खोकी लाग्ने, ग्रन्थी सुन्निने, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिन्छन् । यस्ता लक्षण देखिनेबित्तिकै उपचार गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । समयमै उपचार नगरे मिर्गौला, फोक्सो, मुटुमा असर हुँदै श्वासप्रश्वासमा समस्या भई बिरामीको मृत्यु हुनसक्छ ।