गैर नेपालीलाई नागरिकता : झापामा सिडिओ कार्यालयका कर्मचारी पनि जेल गए



भद्रपुर– झापा जिल्ला अदालतले विदेशीलाई नागरिकता दिलाउने प्रकरणमा मुछिएका जिल्ला प्रशासन कार्यालयका दुई जना कर्मचारीसहित छ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अदालतको आदेशपछि उनीहरु कारागार चलान भएका छन् । यो प्रकरणमा अदालतले ४८ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । तीमध्ये छ जना समातिएका थिए । बाँकी ४२ जना फरार छन् ।

झुटो विवरणका आधारमा १६ जना विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाउन सघाएको अभियोगमा प्रहरीले उनीहरुमाथि छानविन सुरु गरेको थियो ।

झापा जिल्ला अदालतको कात्तिक २५ गतेको आदेश अनुसार छ जनालाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । कारागार चलान हुनेहरुमा जिल्ला प्रशासन कार्यालयका खरिदार तेजिन्द्र न्यौपाने, विर्तामोड नगरपालिका–८ का वडासचिव लोकराज बराल, जिल्ला प्रशासन कार्यालय झापाको मूलढोका अगाडि नेसनल फोटो स्टुडियो चलाउने भद्रपुर–१० का भीमबहादुर लिम्बू, लेखापढी सम्बन्धी काम गर्ने भद्रपुर–१० का प्रेमराज तिम्सिना, विर्तामोड–५ बस्ने टेकबहादुर गुरुङ र भारत किसनगञ्ज घर भई विर्तामोड–८ मा डेरा गरी बस्ने मुस्तफा आलम रहेका छन् ।
गैर–नेपालीलाई झुटो विवरण भराई झापा जिल्ला प्रशासन कार्यालय झापाबाट नागरिकता लिएको घटना सार्वजनिक भएपछि केन्द्रीय अनुसन्धान ब्यूरोले घटनाको अनुसन्धान प्रारम्भ गरेको थियो ।

घटनामा अभियोग लागेका भद्रपुर र विर्तामोडका दुई जना वडाध्यक्ष फरार भएका छन् । प्रहरीले उनीहरुको खोजतलास भइरहेको जनाएको छ । घटनामा जिल्ला प्रशासन कार्यालय झापाका अधिकृत गौरव ढुङ्गेल र खरिदार तेजिन्द्र न्यौपानेको प्रत्यक्ष संलग्नता रहेको छानबिनले ठहर गरेको थियो । प्रहरीले न्यौपानेलाई पक्राउ गरेको थियो भने ढुङ्गेल अझै फरार छन् । झुटो विवरण बनाउँदा टेकबहादुर गुरुङ र रीना गुरुङलाई बुबाआमा कायम गर्दै नौ जनालाई नेपाली नागरिकता दिलाउन सनाखत गराइएको थियो ।
त्यसरी नागरिकता लिनेमा नवाङ सिसाप गुरुङ, रिगजेन छोडेन गुरुङ, धोनसेल गुरुङ, वाङ्मो गुरुङ, डोल्मा गुरुङ, पेमा डोल्कर गुरुङ, छिरिङ डिकी गुरुङ, लोब्सान गुरुङलगायत छन् ।