ढुंगाले छोपेर सखुवाको काठ तस्करी, तस्कर भए वेपत्ता



ढुवानीका साधनमा ढुंगाले छोपेर सखुवाको काठ तस्करी हुने गरेको भेटिएको छ । प्रहरी र वन कर्मचारीको आँखा छलेर ढुवानीका साधनमा काठ तस्करी भइरहेको भेटिएको हो । मोरङको लेटाङ नगरपालिका–८ जाँतेबाट वन कार्यालयका कर्मचारी र प्रहरीको संयुक्त टोलीले बुधबार राति तस्करीको काठसहित एउटा ट्रयाक्टरलाई नियन्त्रणमा लिएपछि काठ तस्करीको नयाँ तरिका बाहिर आएको छ। माथिबाट ढुंगाले छोपेर सखुवाको चिरान काठ तस्करी गर्दै गरेको अवस्थामा को २ त २७९५ नम्बरको ट्रयाक्टरलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक अशोककुमार जवेगुले बताए।

झट्ट हेर्दा ढुंगा ढुवानी गरे जस्तो देखाएर काठको तस्करी गर्न नयाँ उपाय अपनाउन थालिएको निष्कर्ष प्रहरी र वन कार्यालयले निकालेका छन्। वनबाट अवैध रूपमा काटेर ल्याइएका काठ ढुवानीका साधनमा लोड गरेपछि ढुंगाले पुरेर तस्करीमा संलग्नले गन्तव्यसम्म पुर्‍याउने गरेको पाइएको हो। शव डिभिजन वन कार्यालय जाँतेका प्रमुख रुद्रप्रसाद यादवकाले ट्रयाक्टरबाट ८४ थान सखुवाको चिरान काठ फेला परेको बताए। उनका अनुसार तस्करी गर्दै गरेको अवस्थामा ३६ दशमलव ८८ क्यूफिट काठ बरामद भएको छ। नियन्त्रणमा लिइएका बेला ट्याक्टरमा चालक र सहचालक कोही पनि थिएनन्। ट्रयाक्टर मालिकको पनि पहिचान नभएको सहायक वन अधिकृत यादवले बताए।