फड्के किराले धानबाली सखाप : खेतमा आगो लगाउँदै किसान



तीर्थ तिम्सिना–

विभिन्न ठाउँमा लगाइएको धानबालीमा फड्के किराको प्रकोप देखिएको छ । धान भित्र्याउने समय अगावै देखिएको फड्के किराको प्रकोपले किसानले लगाएको धानबाली सखाप पार्न थालेको छ । फड्के किराको प्रकोप झापाको बुद्धशान्ति, अर्जुनधारा, मेचीनगर, दमक लगायतका ठाउँहरुमा देखिएको बुद्धशान्ति कृषि शाखा प्रमुख कृष्ण ढुंगेलले बताएका छन् ।

फड्के किराको प्रकोपबाट भइरहेको क्षतिको विवरण संकलन भइरहेको उनले जानकारी दिए । बुद्धशान्तिमा एकसाता यता क्षतिको विवरण संकलन भइरहेको हो । बुद्धशान्तिका ७ वटा वडामध्ये ७ नम्वर वडाबाहेक सबै वडामा यसको प्रकोप देखिएको र वडा नम्वर २ मा सबैभन्दा बढी क्षति पुगेको ढुंगेलले बताए ।

महंगो बिऊ, खनजोत र मलखाद प्रयोग गरेर धेरै उत्पादन लिने आशामा धान लगाएका किसानहरु यसरी फड्के किराले धान सखाप पारेपछि आँखाभरी आँशु पार्दे धानमा आगो लगाइरहेका छन् । बुद्धशान्तिका स्थानीय किसान सोमनाथ अधिकारी, यमनाथ तिम्सिना, चन्द्र चापागाईं, चन्द्र दाहाल, दीपक कोइराला, प्रदिप घिमिरे, रुद्र न्यौपाने लगायत दर्जनौं किसानले आफूले लगाएको धानबाली फड्के किराले सखाप पारेको बताएका छन् । धानखेती प्रशस्तै हुने बुद्धशान्तिका हात्तिसुँडे, शान्तिनगर, होक्से, कञ्चनबारी लगायत क्षेत्रका किसानले फड्के किरा अन्यत्र नफैलियोस् भन्दै धानबारीमा धमाधम आगो लगाउन थालेका छन् ।

यता, बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले फड्के किराले धानबालीमा ठूलो क्षति पु¥याएको र हाल क्षतिको विवरण संकलन भइरहेको बताउँदै क्षति बेहोरेका किसानलाई के गर्न सकिन्छ भनेर समिति बनाएरै अघि बढ्ने बताएका छन् । उनले आगामी वर्षबाट यस्तो समस्या नदेखिने गरी प्रयास गरिने बताए ।