ढुंगाना परिवारको संरक्षणका लागि कोष स्थापना



पाँचैजना सन्तान अशक्त रहेको मोरङको रुतुवामाई नगरपालिका–८ का ७० वर्षीय तुलसीराम ढुंगानाको परिवारको संरक्षणका लागि प्रदेश सरकारले कोष स्थापना गरिदिने भएको छ ।

घरमूली तुलसीराम मिर्गौला र उच्च रक्तचापका बिरामी रहेको र आमा सिर्जना पनि बुढ्यौलीले थलिँदै गएकाले अशक्त एवं सुस्तमनस्थितिका पाँचजना छोराछोरीको संरक्षणका लागि प्रदेश सरकारले कोष स्थापना गरिदिने भएको हो । २४ कात्तिकमा ढुंगाना परिवारको घर पुगेका प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालयमार्फत उनीहरूको आजीवन हेरचाहका लागि तीन लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिने र क्रमशः वृद्धि गरेर १० लाखसम्म पु(याइदिने जानकारी दिए ।

मन्त्री घिमिरेका अनुसार सो कोषबाट अपांगता भएका पाँचजनाले बुबा–आमाको शेषपछि सहयोग प्राप्त गर्नेछन् । तुलसीरामका ४० वर्षीया छोरी निर्मला, ३८ वर्षीय निर्मल, २८ वर्षीय उमेश, २६ वर्षीया पार्वता र २४ वर्षीया गोमा शारीरिक र मानसिक दुवै रूपमा अशक्त छन् ।

ढुंगाना परिवारलाई स्थानीय र देश–विदेशमा रहेका दयालुहरूले वेला–वेला सहयोग गर्दै आएका छन् । पहिले काठको पुरानो जीर्ण घरमा बस्दै आएका उनीहरूका लागि दाताले एकतले पक्की घर निर्माण गरिदिएका छन् ।