इलाममा सूर्याेदय महोत्सवको तयारी, ५० लाख खर्च लाग्ने अनुमान



इलामको सूर्योदय नगरपालिकाले आगामी मङ्सिर १४ देखि १८ सम्म प्रथम सूर्योदय नगर महोत्सव आयोजना गर्न गर्ने भएको छ । नगरपालिकाले शुक्रवार पत्रकार सम्मेलन गरी महोत्सवको तयारीवारे जानकारी दिएको हो ।
सरकारको घोषणा गरेको १०० पर्यटन गन्तव्यमध्ये प्रदेश नं १ को मुख्य पर्यटकीयस्थल कन्याम फिक्कल श्रीअन्तु सर्किट पर्यटकको लागि महत्वपूर्ण आकर्षण रहेको नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए। अनुमानित ५० लाख खर्च हुने महोत्सवमा नगरपालिकाले २५ लाख लगानी गर्ने तयारी गरेको छ ।

दार्जेलिङ, सिक्किम, भूटान तथा बङ्गलादेशबाट समेत एकै दिनमा आइपुग्ने पहाडी गन्तव्य भएकाले सूर्योदय नगरपालिकाले भारतको मिरिक नगरपालिका तथा दार्जेलिङको स्थानीय सरकारसँग पनि सहकार्य गरिरहेको छ ।

पहाडी क्षेत्रमा भारतसँग सिमाना जोडिएको एकमात्र पक्की सुगम सडकमार्गबाट इलाम भित्रिने पर्यटक बढिरहेको उनले बताए। आकर्षक सूर्योदय अवलोकन गर्ने डाँडा श्रीअन्तु, चिया बगान फिक्कल, भारतसँग सिमाना जोडिएको बजार पशुपतिनगर, रेडपाण्डा संरक्षणस्थल गोर्खेलगायतका स्थानमा महोत्सवभर विभिन्न सांस्कृतिक कार्यक्रमसमेत हुने आयोजकले जनाएको छ। पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने तयारी भइरहेको बताए।

जम्मा ७३ चिया उद्योग रहेको नगरपालिकालाई ‘टि टेस्टिङ सेन्टर’को रुपमा विकास गर्ने तयारी भइरहेको नगरपालिका–९ का अध्यक्ष देवेन्द्र शर्माले जानकारी दिए। उनका अनुसार नगर क्षेत्रमा रहेका होटेल, रिसोर्ट तथा होमस्टेमा दैनिक तीन हजार ७५० पर्यटकलाई सेवा दिन सकिन्छ। सूर्योदय नगरपालिकाले यो वर्ष पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ।