आँगनमै गाडियो सीमास्तम्भ : रातारात बनाइए भारतीय



झापा–वयोवृद्ध वीरबहादुर सुब्बा त्यस बेलादेखि मेचीनगर–११ भान्साखोलामा छन्, जब जंगल फँडानी गरेर बसोबास सुरु भयो । जंगलले ढाकेको क्षेत्रमा खोरिया फाँडेर बस्ती बसाउनेमा उनी अगुवा थिए ।

२०३२ देखि उनले बसाएको बस्ती अहिले भारतको जमिन बनेको छ । भारतले करिब ३५ वर्षअघि जमिन अतिक्रमण गरेर रातारात सीमास्तम्भ गाडेको थियो । २०४२ सालतिर यहाँ नापी भएको स्थानीय पाकाहरूको भनाइ छ । त्यही क्रममा भारतले एकलौटी रूपमा नेपाली भूभाग मिचेर सीमास्तम्भ गाडेको सुब्बाले दाबी गरे । ‘रातारात पिलर गाडेछन्’ उनले भने, ‘आफ्नो माटो भारतले लगेको पत्तै पाइएन ।’

भूमि अतिक्रमण भएको थाहा पाएपछि स्थानीयले विरोध गरे । कतैबाट सुनुवाइ भएन । वीरबहादुरसँगै करिब १५ घरधुरी भारतीय जमिनमा परेको छ । भारतले आफ्नो दाबी गरेको यो जमिनलाई नेपालीहरूले नै कमाइरहेका छन् । तर, मेचीनगरपालिकाले विवादित यो जमिनमा स्थानीयका लागि पानी, बिजुली, सडक आदि पूर्वाधारमा भने लगानी गरिरहेकै छ । स्थानीय अमृत लिम्बू अतिक्रमित भूमि फिर्ता हुनुपर्छ भन्ने पक्षमा छन् ।

स्थानीयका अनुसार करिब ६० बिघा जमिन भारतले अतिक्रमण गरी सीमास्तम्भ गाडेको पाइएको छ । नापी भएका बेला भारतले ५० र ५१ नम्बरका स्तम्भ साविकको नेपाली जमिनभन्दा करिब ५ सय मिटर वरै गाडेको हो ।

स्थानीय कृष्णप्रसाद उप्रेतीका अनुसार नेपाल र भारतको संयुक्त टोलीले यो क्षेत्रको नापी गरेको थियो । ‘भारतीय टोलीले एकपक्षीय रूपमा सिमाना मिचेर स्तम्भ राख्दा नेपाली अधिकारीको टोली दार्जीलिङ घुम्न गएको थियो । पहिला नेपालको सिमाना मेची खोलासम्म थियो,’ उनले भने, ‘अहिले मेचीभन्दा ५ सय मिटर वरसम्म मात्रै सिमाना कायम छ ।’

पुराना बासिन्दा भजन चौधरीका अनुसार २०२९ सालताका भेषबहादुर थापा आयोगले अस्थायी धनीपुर्जा उपलब्ध गराएको थियो । तर, २०४२ सालमा भारतको अतिक्रमणपछि धनीपुर्जा स्थायी बन्ने प्रक्रिया अलपत्र छ । ‘हामी हिजो आएर बसेका होइनौं,’ चौधरीले भने, ‘५० वर्षदेखि बस्दै आएका छौं ।’

पूर्वी सीमाका पहरेदार
भारतले आफ्नो नक्सामा नेपालको कालापानी पारेको खबर सुनेदेखि भद्रपुर–३ डोलो बस्तीका ७० वर्षीय श्रीप्रसाद महतोलाई निद्रा परेको छैन । वर्षौंदेखि आफूहरू बस्दै आएको जमिनमा पनि उसले कब्जा जमाउने हो कि भन्ने उनलाई चिन्ता छ । ‘भारतले राति नै पिलर सारेर हामीलाई लखेट्ने हो कि भन्ने डर छ,’ उनले भने, ‘कालापानी कब्जा गर्नेले हाम्रो गाउँ पनि मिच्न के बेर ?’ तर कुनै पनि हालतमा भारतलाई जमिन मिच्न नदिने उनले बताए ।
मेचीपारि पर्छ, डोलो बस्ती । २०२० सालताका भद्रपुर–३ मा पर्ने यो गाउँको पूर्वबाट मेची नदी बग्थ्यो । नदीभन्दा झन्डै दुई किलोमिटर पर सीमास्तम्भ थियो । नेपालको यो भूमिमा अहिले विहार किसनगन्ज जिल्लाको नेमगुडी गाउँ छ ।

२०२२ सालपछि नदीले धार फेरेर पश्चिमबाट बग्न थालेपछि भारतले साविकको सिमाना मिचेको हो । ‘हामी बलियो भएर नबसेको भए हाम्रो गाउँ पनि उहिल्यै भारतले लगिसक्थ्यो,’ डोलो बस्तीका ७० वर्षीय श्रीप्रसाद महतोले भने, ‘हामी सिमानाका सिपाही भई बसेका छौं र भारतले अतिक्रमण गर्ने आँट गरेको छैन,’ उनले भने । गाउँ नभएको भए भारतले मेची नदीलाई मुख्य सिमाना मानेर जमिन कब्जा गरिसक्ने उनको दाबी छ । डोलो बस्ती, भाङबारी र डाँडागाउँ छाडेर आसपासका क्षेत्रमा बिस्तारै भारतले अतिक्रमण गरिरहेको छ । डोलो गाउँ उत्तर–पश्चिमको सिमानामा भारतले नदी कायम गरिसकेको छ । मेचीपारिको यो गाउँमा सरकारी अनुपस्थितिको फाइदा उठाउँदै भारतले बिस्तारै अतिक्रमण गर्न थालेको स्थानीय उमेश कुर्मी बताउँछन् आफूले थाहा पाउँदासम्म घर अघिल्तिर सीमा स्तम्भ नरहेको २०४२ सालको नापीबाट भारतीय भूमिमा आफ्नो जमिन परेका सम मुर्मुले बताए । तर अहिले उनको आँगनमै स्तम्भ ठडिएको छ । ‘मैले जान्दासम्म यहाँ पिलर थिएन,’ उनले भने, ‘पहिलाको नेपाली गाउँ रातारात भारत बन्यो ।’

द्वन्द्वकालमा प्रहरी चौकी विस्थापित भएको मौका पारेर भारतले यहाँ पुन अतिक्रमण गरेको स्थानीय लक्ष्मण महतो बताउँछन् । अहिले पनि जमिन मिच्ने क्रम नरोकिएको उनको भनाइ छ । ‘हामीले बेलाबेला विरोध गरिरहेपछि भने अतिक्रमण कम भएको छ,’ उनले भने, ‘आवाज नउठाउने हो भने भारतले कति बेला भूमि लैजान्छ, पत्तै नहुने रहेछ ।’

सिमानामा सिपाही जस्तो पहरा दिएर बसेका यहाँका स्थानीय भने सधैंको उपेक्षामा छन् । निर्वाचनमा भोट माग्न आउँदाबाहेक अन्य समयमा राजनीतिक दलले आफूहरूका विषयमा खासै चासो नदिएको स्थानीयको आरोप छ । निर्वाचनबाहेक अरू बेला राजनीतिक दलका मान्छे हत्तपत्त मेचीपारि पुग्दैनन् । ‘भोट माग्ने बेला भने नेताहरूको लस्कर लाग्छ,’ स्थानीय लेकेरु राजवंशीले भने । करिब १ सय ५५ घरधुरी रहेको यो गाउँमा राजवंशी, सन्थाल र कुर्मी समुदायको बसोबास छ । स्थानीयको मुख्य पेसा खेतीकिसानी हो ।