अझै सुरु भएन प्रशारण लाइनको काम



दुहबी–कटहरी ३३ केभी विद्युत् प्रसारण लाइनको काम अझै सुरु हुन सकेको छैन । घना बस्तीबाट हाइटेन्सन लाइन लान लागेको भन्दै मोरङ ग्रामथान गाउँपालिका–३ गिधनियाका स्थानीयले अवरोध गरेका थिए । स्थानीयले अवरोध गरेपछि सुनसरीको दुहबीदेखि मोरङको कटहरी औद्योगिक क्षेत्रका लागि विस्तार भइरहेको ३३ केभी विद्युत् प्रसारण लाइनको काम ठप्प भएको हो ।

काम ठप्प भएपछि प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले १ कात्तिकमा सर्वपक्षीय छलफल गरी जोखिम क्षेत्रमा ४५ दिनभित्र अन्डरग्राउन्ड प्रसारण लाइन विस्तारको काम सबै सक्ने सहमति गराएका थिए । तर, विद्युत् प्राधिकरण र स्थानीयबीच सहमति भएको महिनादिन हुन लाग्दा पनि काम सुरु भएको छैन । प्रसारण लाइन विस्तार परियोजना हेरिरहेका इन्जिनियर शैलेश सापकोटाले अवरोध भएको अढाई किलोमिटर क्षेत्रमा के–कसरी लाइन विस्तार गर्ने भन्नेबारे टेक्निकल अडिट भइरहेकाले काम सुरु हुन नसकेको बताए । उनले अडिट रिपोर्ट स्वीकृत भएर आएलगत्तै काम सुरु गरिने बताए ।