गुट्खामा ३६ करोडको राजश्व छली, झापा जिल्लाअदालतमा मुद्दा दायर




झापाको मेचीनगर नगरपालिका–१४ मा रहेको साकम्बरी प्रोडक्टका सञ्चालकसहितको मिलेमतोमा गुट्खाजन्य मालवस्तुमा ३६ करोड बढीको राजश्व छली गरेको पाइएको छ ।

अनुसन्धानमा उक्त कम्पनीका सञ्चालक मुकेश शर्मा, रामकृष्ण शर्मालगायत छ जनाको मिलेमतोमा ३६ करोड ५४ लाख बिगो बराबरको राजश्व छली गरेको राजश्व अनुसन्धान विभागले जनाएको हो । साकम्बरी प्रोडक्टले उत्पादन गरेको अवैध गुट्खाजन्य मालवस्तु माधव इन्टरप्राइजेजसमेतको संलग्नतामा अन्तःशुल्क स्टिकर नलगाई कानून बमोजिम बुझाउनुपर्ने अन्तःशुल्क, मूल्य अभिवृद्धि कर र आयकरसमेत नबुझाई बिक्री वितरण गरेको पाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

उक्त घटनामा साकम्बरी प्रोडक्टका सञ्चालक मुकेशसहित रामकृष्ण, सुपरभाइजर सदनसिंह तथा माधव इन्टरप्राइजेजका सञ्चालक सीताराम शर्मा तथा सवारी धनी आशिष शर्मा र विष्णुप्रसाद खरेलको समेत मिलेमतो रहेको देखिएकाले उनीहरुविरुद्ध मुद्दा चलाइएको उनले जानकारी दिए । मङ्सिर १ गते बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्षको कैद सजाय माग दाबीसहित उनीहरु विरुद्ध जिल्ला अदालत झापामा मुद्दा दर्ता गरिएको विभागले विज्ञप्तिमार्फत जनाएको छ ।