अर्जुनधारा धाममा किँरात धर्मगुरु आत्मनन्दको भव्य स्वागत, धामलाई दिए डेढ लाख रुपैयाँ सहयोग



तस्वीरहरु– विष्णु श्रेष्ठ, विवेचना

पूर्वको पशुपतिनाथका रुपमा प्रसिद्ध झापाको अर्जुनधारा जलेश्वरधाममा बालाचतुर्दशीको अवसर पारेर ३७ औँ धार्मिक अनुष्ठान सुरु भएको छ । अनुष्ठानको प्रसिद्ध किराँत धर्मगुरु आत्मानन्द लिङ्देनले आइतवार उद्घाटन गरेका छन् । विश्व शान्ति र मानव जाति बीचको एकताका लागि अर्जुनधारा जलेश्वरधामले बर्सेनि आयोजना गर्दै आएको धार्मिक अनुष्ठानमा पहिलोपटक किराँत धर्मगुरु लिङ्देनको आगमन भएको हो ।

आफ्नो सुरक्षा दस्ताको घेरामा धर्मगुरु लिङदेन अर्जुनधाराधाम आएका हुन् । निजी चिकित्सक र सचिवालयका कर्मचारीसहित आएका गुरुका साथमा गुरुआमा पवित्रहाङ्मा लिङदेन समेत थिइन् । सो अवसरमा ठूलो सङ्ख्यामा किँरात धर्मावलम्वीको उपस्थिति रहेको थियो ।

किराँत धर्मगुरु लिङदेनलाई प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की र जलेश्वरधामका अध्यक्ष नवीन गट्टानी, पूर्वमन्त्री केशवकुमार बुढाथोकी, कांग्रेस झापा सभापति उद्धव थापा, संविधानसभा सदस्य प्रेम गिरी, अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, हल्दीवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेन लगायतले स्वागत गरेका थिए ।

जगद्गुरु शड्ढराचार्य हेमानन्द गिरी समेतको उपस्थितिमा धर्मगुरु लिङदेनले अर्जुनधारा जलेश्वर धामका तर्फबाट किँरात समुदायप्रति गरिएको सम्मान प्रशंसनीय रहेको बताए । उनलाई धाम अध्यक्ष गट्टानीले त्रिशुल उपहार दिएका छन् । बालाचतुदर्शीका दिन समापन हुने अनुष्ठानमा नेपाल, भारत र भुटानका दर्शनार्थीको आगमन सुरु भइसकेको छ ।

किरात धर्मगुरुका अनुयायी, भक्तजनहरुको बाक्लो उपस्थितिका बीच आयोजक धाम व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले धार्मिक सहिष्णुता कायमसँगै एक अर्काको अस्तित्व स्वीकार गरेको सन्देश प्रवाह गर्ने उद्देश्यले धाममा यसपटक किरात धर्मगुरुलाई निमन्त्रणा गरिएको धारणा राखे ।

१ नम्बर प्रदेश किरातहरुको थलो भएको दाबी गरेका पूर्वमन्त्री बुढाथोकीले धाममा हिन्दुहरुको मात्र नभई किरातीको पनि हक लाग्ने भन्दै धाम उनीहरुको लागि पनि खुल्ला रहेको उल्लेख गरे । त्यसैगरी विश्वकी प्रथम महिला शंकराचार्य हेमानन्द गिरीजी महाराजले धर्म शास्त्रमा उल्लेख भएअनुसार नेपाल किरातहरुको देश भएको दाबी गरिन् । किरातहरु भगवान शिवको सन्ततिहरु भएको उनको कथन छ। धाम परिसरमा किरात धर्मगुरु र गुरुआमाको आगमनले आफूलाई भगवान शिवको उपस्थिति भएको महसुस हुँदा कार्यक्रम गौरवशाली भएको उनले प्रतिक्रिया दिइन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले किरातहरुको धार्मिक तीर्थस्थल लारुम्बाको विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रम अन्र्तगत आर्शिवचन दिने क्रममा किरात धर्मगुरु आत्मानन्द लिङदेनले सबै धर्मका मानिसहरु एक भइ धार्मिक सहिष्णु्ता कायम गरेर विश्व शान्तिको लागि अगाडि बढ्नुपर्ने बताए । उनले पृथ्वीको आयु करिब–करिब सकिन लागेको विज्ञानले पनि पुष्टि गरेको अवस्थामा पृथ्वीको आयु बढाउन धर्मबाट मात्र सम्भव भएको दाबी गरे ।

सोही अवसरमा धामको स्तरोन्नतिको लागि किरात धर्मगुरुको तर्फबाट एक लाख ५० हजार सहयोग रकम धाम समितिलाई उपलब्ध गराइएको थियो । समितिका अध्यक्ष नविन गट्टानीको अध्यक्षतामा आयोजित कार्यक्रममा पवनकुमार अग्रवालले ५१ हजार रुपैयाँ प्रदान गर्दै गल्ला उद्घाटन गरेका थिए । छविलाल शिवाकोटी र धनपति चिमरियाले धान्याचल उद्घाटन र पूर्व मन्त्री बुढाथोकीले यज्ञशालाको उद्घाटन गरेका थिए । धामका मूल अर्चक अग्निप्रसाद सिग्देलले धामको विगत, वर्तमान र भावी योजनाबारे जानकारी गराएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष भीमचन्द्र भट्टराईले र कार्यक्रमको सञ्चालन सञ्चालकद्धय उर्मिला दाहाल र स्वस्तिका आचार्यले गरेका थिए ।

अनुष्ठानका अवसरमा भारतको कोलकातास्थित महावीर सेवा सदनको सहयोगमा मङ्सिर ५ देखि ७ गतेसम्म निःशुल्क आँखा शिविर र मङ्सिर १३ देखि २० गतेसम्म निःशुल्क कृत्रिम अङ्ग प्रत्यारोपण कार्यक्रम सञ्चालन गरिने धाम समितिले जनाएको छ ।