तमोर नदीमा र्‍याफ्टिङ



‘तमोर नदीमा र्‍याफ्टिङ (जलयात्रा) गर्दा अति नै रमाइलो हुन्छ । कहिले काहीँ डर पनि लाग्छ, यस्तोमा नै रमाउने हो ।’ २४ जनाको विदेशीहरुलाई नेतृत्व गरेर आएका इटालियन नागरिक डेभिडले तमोर नदीमा र्‍याफ्टिङ गर्नुअघि भने । पछिल्लो समय उनीसहित अल्टिमेट रिभर कम्पनीमार्फत स्पेन, फ्रान्स, इटालीका नागरिकले आठराई त्रिवेणी गाउँपालिका र मेरिङदेन गाउँपालिकाको सिमाना रहेको तमोर दोभानबाट र्‍याफ्टिङ सुरु गरेका छन् । सिजन सुरु भएसँगै यस नदीमा विभिन्न कम्पनीले करिब ५० जना विदेशीलाई र्‍याफ्टिङ गराएका छन् ।

दोभानबाट सुरु भएको जलयात्रा कावेली दोभान, माझीटार, मूलघाट हुँदै ५ दिनमा चतारा पुग्न सकिन्छ । यस जलयात्रा रुटलाई निकै साहसिक रुट मानिन्छ । र्‍याफ्टिङ गर्न विश्वमा भएका कुनै पनि नदीमा यति रमाइलो हुँदैन।’ अर्का विदेशी नागरिक जोनले भने ‘यहाँको प्राकृतिक सुन्दरताले नै लोभ्याउँछ ।’ ६ जना जापानी नागरिकलाई र्‍याफ्टिङका लागि लिएर आएका र्‍याफ्टिङ स्टार कम्पनीका र्‍याफ्टिङ गाइड सुरेसकुमार चौधरीका अनुसार नेपालका र्‍याफ्टिङ गर्न मिल्ने १६ नदीहरूमध्ये यो नदी निकै अप्ठ्यारो छ । नेपालमा रहेका करिब ६ हजार नदी नालामध्ये तमोर, कर्णाली, कालीगण्डकी, त्रिशूली, भोटेकोशी, सुनकोशी, अरुण लगायतका १६ नदीमा साहसिक जलयात्राका लागि खुल्ला गरिएको छ ।

‘पहिलो दिन तमोर दोभानदेखि कावेलीसम्म निकै जोखिम छ’, र्‍याफ्टिङ गाइड चौधरीले भने ‘तर उनीहरू (पर्यटक) यस्तोमा नै र्‍याफ्टिङ गर्न मन पराउँछन् ।’ तीव्र बहाव र पहाडका खोंचहरूमा समेत निकै साहसपूर्ण रूपमा जलयात्रा गरिन्छ । विदेशीहरू जोखिमपूर्ण क्षेत्रमा र्‍याफ्टिङ गर्न रुचाउने भए पनि नेपाली र भारतीयहरू भने जोखिम नभएको ठाउँ रुचाउने चौधरीले बताए । र्‍याफ्टिङ कम्पनीहरुले प्रतिव्यक्ति १२ सय डलर (करिब १ लाख ९८ हजार रुपैयाँ) मा यस नदीमा र्‍याफ्टिङ गराउँछन् । र्‍याफ्टिङका लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने सम्भावना भएको यहाँ प्रचारको नै अभाव भएको उनको बुझाइ छ ।

विदेशी पर्यटकहरु जलयात्राका लागि ताप्लेजुङ, तेह्रथुम र संखुवासभाको संगमस्थल तथा गुराँसको राजधानी तिनजुरे मिल्के जलजले हुँदै पदयात्रा मार्फत तमोर दोभान आउने गरेका छन् । पदयात्राका क्रममा विभिन्न हिमश्रृङ्खला, हिमाली घाँसे मैदान लगायतको समेत दृश्यावलोकन गर्न सकिने भएकाले तमोरमा र्‍याफ्टिङको लागि विदेशी आउने गरेको पर्यटन व्यवसायीहरु बताउँछन् । यसका लागि अझै धेरै प्रचारप्रसार आवश्यक रहेको र्‍याफ्टिङ स्टारका चौधरीले बताए ।

यो सिजनमा पहिलोपटक गत कात्तिक ५ गते ५ जना विदेशीले र्‍याफ्टिङ गरेका थिए । त्यसपछि लगातार कार्तिक ११ गते ४ जना, १६ गते ८ जना, २७ गते ३० जना विदेशीले र्‍याफ्टिङ गरेको इलाका प्रहरी कार्यालय दोभानका प्रमुख प्रहरी निरीक्षक विनोद निरौलाले जानकारी दिए । तमोर नदीमा अझै धेरै विदेशी पर्यटक भित्र्याउन यहाँसम्म आउने पदमार्ग मर्मत, फोहोर व्यवस्थापन तथा प्रचारप्रसारमा ध्यान दिनुपर्ने पर्यटन व्यवसायीहरुको भनाइ छ ।

वसन्त लिम्बू