इलाममा डेरी उद्योगमा युवाको आकर्षण, बर्सेनि थपिँदै करोड लगानी



इलाम– दुुध उत्पादनमा नामुद मानिने इलाममा डेरी उद्योगमा युवाको आकर्षण बढ्दै गएको छ । सानो लगानीमा स्वरोजगार हुने माध्यम बनेपछि डेरी उद्योगमा वर्षेनी युवाको लगानी थपिँदै गएको हो । देउमाई नगरपालिका–४ तल्लो बुधबारेका अशेष बुढाथोकी भन्छन्, ‘विदेशबाट फर्किएका मजस्ता युवा डेरी उद्योगमा लाग्दै जाँदा लगानी थपिँदै गएको छ ।’

बुढाथोकी गजुरमुखी दर्शन डेरी उद्योगका सञ्चालक हुन् । शुरुमा ४० लाख लगानीमा डेरी स्थापना गरेका बुढाथोकीको उद्योगमा ६५ लाख रुपैयाँ लगानी भइसकेको छ । बुढाथोकी करिव दुईसय ५० किसानले उत्पादन गरेको एकहजार लिटर दुध दैनिक आफ्नो डेरीमा प्रशोधन गर्छन् । त्यसबाट एक हजार दुईसय किलो छुर्पी र सोही हाराहारीमा घ्यू उत्पादन हुन्छ । उनले उत्पादन गरेको छुर्पी अमेरिका निर्यात हुन्छ भने घ्यू भने नेपाली बजारमानै बिक्री हुँदै आएको छ ।

पछिल्लो तीन वर्षयता जिल्लामा डेरी उद्योगमा मात्रै वर्षेनी १० करोड रुपैयाँ हाराहारी लगानी थपिएको छ । पछिल्लो चार महिनामा इलाममा २१ वटा डेरी उद्योग स्थापना भएको घरेलु तथा साना उद्योग शाखा कार्यालयले जनाएको छ । साउन महिनायता थपिएको उद्योगमा मात्रै तीन करोड १५ लाख ७८ हजार रुपैयाँ लगानी भएको उद्योग अधिकृत पदम कट्टेलले बताए । वैदेशिक रोजगारीबाट फर्किएकाहरुले व्यवसाय गर्न थालेकाले इलाममा डेरी उद्योगमा लगानी बढेको हो ।

आर्थिक वर्ष २०७५÷७६ इलाममा ९१ वटा डेरी उद्योग दर्ता भएका थिए । ती उद्योगमा ११ करोड २७ लाख १६ हजार रुपैयाँ लगानी भएको छ । एउटा डेरी उद्योगमा डेढ लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्म लगानी गरिएको छ । इलाममा हाल पाँचसय ४४ डेरी उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी युवराज घोर्साइले बताए । यी डेरी उद्योगमा ५० करोड ३४ लाख ८८ हजार रुपैयाँ लगानी भएको छ । इलामको सवैभन्दाबढी देउमाई नगरपालिकामा १०४ वटा डेरी उद्योग सञ्चालनमा छन् ।