नेपाली विद्यार्थीबाट अमेरिकाले लैजान्छ बर्सेनि ५५ अर्ब



उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीले वार्षिक ५५ अर्ब रुपियाँभन्दा बढी रकम अमेरिकालाई बुझाउने गरेको अध्ययनले देखाएको छ । अन्तर्राष्ट्रिय विद्यार्थीसम्बन्धी अध्ययन गर्ने विभिन्न संस्थाको अध्ययनले उक्त तथ्य सार्वजनकि गरेको हो ।

इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेशन र अमेरिकी विदेश मन्त्रालयअन्तर्गत शैक्षिक तथा सांस्कृतिक मामिलासम्बन्धी ब्युरोले सार्वजनिक गरेको प्रतिवेदनमा यो उल्लेख छ । इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेशन र अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको शैक्षिक तथा सांस्कृतिक मामिलासम्बन्धी ब्युरोको प्रतिवेदनले शैक्षिक सत्र २०१८÷१९ मा अमेरिकामा १३ हजार २ सय २९ नेपाली विद्यार्थी रहेको देखाएको छ ।

संख्याको दृष्टिले अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमा नेपाल बाह्रौं स्थानमा छ । तीनवटै निकायको अध्ययनअनुसार अमेरिकामा एक अन्तर्राष्ट्रिय विद्यार्थीले शैक्षिक सत्र २०१८÷१९ मा औसतमा ३६ हजार ९ सय ४८ अमेरिकी डलर (करिब ४१ लाख ७५ रुपियाँ) अमेरिकालाई बुझाएको देखिन्छ । यस हिसाबले अमेरिकामा अध्ययनरत १३ हजार २ सय २९ नेपाली विद्यार्थीले शैक्षिक सत्र २०१८÷१९ मा अमेरिकालाई ४८ करोड ८७ लाख ९५ हजार ८ सय ७२ अमेरिकी डलर (करिब ५५ अर्ब २३ करोड रुपियाँ) बुझाएका छन् ।

सन् २०१९ को अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदान तथ्याङ्कसम्बन्धी ओपन डोओर्स प्रतिवेदनमा शैक्षिक सत्र २०१८÷१९ मा १० लाख ९५ हजार २ सय ९९ अन्तर्राष्ट्रिय विद्यार्थी अमेरिकामा रहेको देखाएको छ ।