सडक निर्माणमा खबरदारी



झापामा निर्माणाधीन विकास आयोजना धेरै छन् । तीमध्येको बिर्तामोड–भद्रपुर सडक खण्ड एक हो, जसको चार किलोमिटर सडक १५महिना अघिदेखि निर्माणाधीन अवस्थामा छ । सडक निर्माणाधीन अवस्थामा हुँदा जनताले धेरै दुख पाउँछन् । बनेपछि राम्रो होला कामना गरौँ । तर, यति छोटो दूरी सडक निर्माण गर्न जनताले पर्खिएको समय धेरै हो । समय खर्चिए अनुसार काममा प्रगति भएको नदेखिएपछि सडकमा जनता उत्रिन थालेका छन् । ठेकेदारको लापरवाहीविरुद्ध बिर्तामोड उद्योग वाणिज्य सङ्घबाट सुरु भएको खवरदारी कतिसम्म परिणाममुखी हुन्छ अहिल्यै भन्न सकिन्न । तर, जनता सडकमा आएपछि कसैको केही लाग्दैन

बिर्तामोड–भद्रपुर सडक बनाउने जिम्मा सडक विभागको हो । ठेक्का लगाउनेदेखि आयोजनाका अरु सबै काम सडक डिभिजनले गरेको छ । तर, यसको दोष बिर्तामोड नगरपालिकाले लिनु परिरहेको छ । स्थानीय सरकारको नाताले नगरपालिकाले दोष पाउनु स्वभाविक हो । स्थानीय सरकार प्रमुखका रुपमा बाटो बन्छ भन्ने आश्वासन नगर प्रमुख ध्रुव सिवाकोटीले दिएको साँचो हो । स्थानीय सरकारको पहलकदमीका विषयमा नागरिकले स्वभाविकरुपमा प्रश्न राख्छन् । बाटो निर्माण नहुनुमा ठेकेदार पक्ष बढी दोषी र गैरजिम्मेवार छ । ठेक्का लिने तर, सडक निर्माणमा आवश्यक जनशक्ति परिचालन नगर्ने ठेकेदारको रवैया निन्दनीय छ ।

समयमा काम सम्पन्न गर्न सरोकारवालाको खबरदारी पहिलो सर्त हो । स्थानीय सरकारका रुपमा नगरपालिकाको अग्रसरता अनिवार्य छ । यसमा सडक प्रभावित क्षेत्रका नागरिक झन् सङ्गठित हुनुपर्ने बेला आएको छ । नेपालमा विकास योजना प्रशस्तै बन्छन् । बजेट पनि छुट्याइन्छ । तर काम हुँदैन । काम सुरु भयो भने पनि समयमा सकिँदैन । यो विडम्वना बिर्तामोड भद्रपुर सडकको पनि हो ।

आफ्नो वरपर भइरहेका विकास आयोजनाको खबरदारी गर्ने दायित्व अव जनताको हो । गुणस्तरमाथि प्रश्न उठाउने, ठेकेदार र सरकारी निकायलाई सचेत गराउने काममा जनताको भूमिका प्रभावकारी हुनुपर्छ । अन्यथा आफैँ ठगिनुको विकल्प हुँदैन । गुणस्तरीय सडक नबन्दाको परिणाम भोग्ने भनेकै जनताले हो । असार लागेपछि बजेट सक्ने हतारो हुन्छ । हतारमा गरिएको काम राम्रो हुँदैन भन्ने सबैलाई थाहा छ । बजेट सक्न मात्रै होइन, उपलब्धि हासिल गर्न विकास आयोजनामा गुणस्तर र दीगोपना चाहिन्छ । जनताको सक्रियता, सहभागिता र उपयोगिताले मात्रै दिगो विकास सम्भव छ ।