१५ सय मेगावाटको जलविद्युत् आयोजना आफैं बनाउने प्रदेश १ सरकारको तयारी



प्रदेश १ सरकार आफैंले जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । राजधानीमा ऊर्जा सम्मेलन (पावर समिट २०१९) को दोस्रो दिनको सत्रलाई सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश आफैँले जलविद्युत् आयोजना बनाउने तयारी गरिरहेको बताका हुन् । ‘प्रदेशले सार्वजनिक–निजी–साझेदारी (पीपीपी) मोडलमा आयोजना निर्माणको गर्न लागेको छ’ उनले भने ।

नेपालको जलविद्युत्मा ३४ प्रतिशत उत्पादन क्षमता रहेको प्रदेश १ नेपालकै ऊर्जा क्षेत्रको अधिक सम्भावनाको प्रदेश पनि हो । प्रदेश १ मा रहेका अरुण, तमोरसहितका अन्य नदीहरूमा आकर्षक आयोजनाहरू छन् । यी आयोजनाहरूलाई प्रवद्र्धन गर्न प्रदेश १ ले उपयुक्त वातावरण सिर्जना गर्ने मुख्यमन्त्री राईले बताए ।

जलविद्युत् उत्पादन मात्रै नभएर अरु ठूला पूर्वाधारमा लगानी भित्र्याउन प्रदेश १ ले २० वटा आयोजना तयार पारेको छ । ती आयोजना बनाउन प्रदेश सरकारले लगानी सम्मेलनको तयारी पनि गरिरहेको मुख्यमन्त्री राईले जानकारी दिए । ‘प्रदेश १ मा हुने आयोजना निर्माण र पूर्वाधार विकासमा सहज तथा छोटो प्रक्रिया अवलम्बन गर्न प्रदेश सरकारले सहजीकरण गर्नेछ’, उनले भने, ‘यसका लागि एकद्वार प्रणालीबाट आयोजनाको काम अगाडि बढाइने तयारी गरेका छौँ ।’

मुख्यमन्त्री राईले प्रदेश १ ले एक हजार ५ सय मेगावाटका आयोजना आफ्नै कार्यकालमा तयार पार्ने गरी अगाडि बढेको जानकारी दिए । ‘यसका लागि एकदेखि तीन वर्षभित्र पूरा हुने आयोजनालाई प्राथमिकता दिइएको छ’, उनले भने । आयोजना निर्माण हुने जग्गा प्राप्तिको समस्या, निर्माणमा सरकारले दिने सहजताका विषयमा एक महिनाभित्रै उपयुक्त निर्णय आउनेछ । प्रदेश १ ले सार्वजनिक जग्गाको खोजी गरेको र सोको विवरण एक महिनाभित्रै आउने जानकारी पनि मुख्यमन्त्री राईले दिए ।