स्वास्थ्य सचिव चौधरी एक महिनादेखि सम्पर्कविहिन



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरी झण्डै एक महिनादेखि सम्पर्कविहिन भएकी छन्। मन्त्रालयमा उनको पदावधि अझै दुई वर्ष भन्दा बढी बाँकी नै छ। उनले कात्तिक १३ गते पदबाट राजीनामा दिएकी थिइन् । त्यसयता डा. चौधरी सम्पर्कमा नरहेको मन्त्रालयले जनाएको छ। उनको राजीनामा भने मन्त्रीपरिषद्ले अस्वीकृत गर्दै मन्त्रालयमा फिर्ता पठाएको थियो। १७ कात्तिकमा बसेको मन्त्रीपरिषद् बैठकले डा. चौधरीको राजीनामा अस्वीकृत गरेको थियो। राजीनामा अस्वीकृत तीन साता बितिसकेको छ। स्वास्थ्य समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले डा. चौधरी सम्पर्कमा नआएको बताए ।

मन्त्रालयका प्रवक्ता समेत रहेका श्रेष्ठले भने, ‘सचिवज्यू मन्त्रालयमा आउनु पर्ने त हो तर राजीनामा पेश गरेपछि अहिलेसम्म सम्पर्कमा आउनु भएको छैन, मन्त्रीपरिषद्ले राजीनामा अस्वीकृत भएको जानकारी उहाँको इमेलमा पठाएका छौं।’ सचिव डा.चौधरीको मोबाइल स्वीच अफ रहेको छ।