देउवालाई प्रचण्डको चेतावनी



नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियतालाई चुनावी एजेण्डा नबनाउन काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई चेतावनी दिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति देउवाले शनिबार पोखरामा भारतले प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा नयाँ नक्सा जारी गरेको अभिव्यक्ति दिएपछि प्रचण्डले सार्वजनिक रुपमै त्यसको प्रतिवाद गर्दै यस्तो चेतावनी दिएका हुन् ।

प्रचण्डले राष्ट्रियताको संवेदनशील विषयमा पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले दिएको अभिव्यक्तिले उनको हैसियत प्रष्टिएको पनि बताए । सोमबार चितवनको भरतपुर महानगरपालिका–१६ मा आयोजित उपनिर्वाचनको चुनावी सभामा उनले भने ‘देउवाजी जस्ता साथीहरु झुटा कुरा नगरौँ, भौगोलिक अखण्डता, राष्ट्रिय अखण्डता र एकता जस्ता कुरा चुनावी एजेण्डा होइनन् ।’

प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएकोमा कुनै द्विविधा नभएको भन्दै भारतसँग कुटनीति ढङ्गबाट वार्ता गरी जमिन फिर्ता गरिने बताए । ‘सुगौधी सन्धिको धारा ५ अनुसार कालीनदीभन्दा पूर्वको जमिन नेपालको हो, हामीले भारतलाई यसबारेमा पत्रको डाफ्टसमेत पठाइसकेका छौँ’, प्रचण्डले भने ‘हाम्रो एक इन्च भूमि पनि दिँदैनौं भारतको एक इन्च पनि चाहिँदैन ।’

प्रचण्डले पाँच बर्षको स्थिर सरकार बनेपछि टनेल र रेल मार्ग निर्माण तथा पानीजहाज सञ्चालन गर्ने काम तीव्र गतिमा अघि बढेको बताए । ‘हामी टनेल युगमा गएका छौं, अब राजमार्गहरु सिधा हुन्छन्, नयाँ नयाँ र छोटा टनेल मार्गहरु बनाउँछौं, काम सुरु भइसकेको छ, रेल पनि आउँदैछ, पूर्वबाट सुरु हुन लाग्या छ, उत्तरबाट पनि आउँछ, दक्षिणबाट पनि आउँछ, नारायणीमा केही दिनमा नै पानीजहाज चल्छ,’ अध्यक्ष प्रचण्डले भने ।