अढाइसय विघाको धान फड्के कीराले नष्ट



झापाका किसानले लगाएको धानखेतीमा एकपछि अर्काे समस्या देखिएको छ । सुरुमा फौजी कीराको आतङ्क सहेका झापाली किसान अहिले पाक्न लागेको धान फड्के कीराले सराप बनाएपछि चिन्तित छन् । कीराको सङ्क्रमणका कारण धानवाली सखाप भएपछि किसानले खेतमा आगो लगाइरहेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

झापामा धान पसाउने बेलामा फौजी कीराको सङ्क्रमण देखिएको थियो । तर, अहिले पाक्ने बेलाको धान फड्के कीराको सङक्रमणका कारण खेतमै सुक्न थालेको छ । खेतमै धान सुकेपछि किसानले धमाधम आगो लगाइरहेका छन् । ‘अचम्मै भयो । यो अनुसन्धानको विषय हो’, बुद्धशान्ति गाउँपालिकाका किसान सीताराम बाँस्तोला भन्छन्, ‘सरकारले यसलाई गम्भीरतापूर्वक हेरिदिएन भने किसान भोकभोकै मर्छन ।’ उनले किसानको षतिको अवस्था हेरेर राहत दिन सरकारसँग माग गरे ।

भुसुना जस्तो देखिने कीराले एकैरातमा पाकेको धानको दाना भुस बनाउने गरेको किसान बताउँछन् । दुई चार दिनमै खेतको धान कीराले सखाप बनाएपछि उनीहरुको मन कुँडिएको छ । कीरा लागेको पराल गाईवस्तुलाई पनि खुवाउन नहुने भएपछि खेतमै आगो लगाएर नष्ट गर्नुको विकल्प नभएको बुद्धशान्ति गाउँपालिकाकी अर्की किसान देवीमाया चापागाईँले बताइन् । ‘अलि अलि दाना भको काटियो । तर, धेरै धान चाहिँ कीराले बर्बाद बनाइदियो’, उनले भनिन्, ‘पराल समेत गाई बस्तुलाई खुवाउनु नहुने थाहा पाएपछि किन जनमन गरेर काट्नु भनेर खेतमै आगो लगाइदियौँ ।’

भद्रपुर, मेचीनगर र दमक नगरपालिका, बुद्धशान्ति, हल्दीबारी, गौरीगञ्ज र कमल गाउँपालिकाका किसान पनि यो समस्याबाट पीडित छन् । तर पीडित किसानको माग सम्वोधन भइसकेको छैन । फड्के कीराको प्रकोपका कारण पाक्न लागेको धान सुकेर काम नलाग्ने अवस्थामा पुगेपछि किसानले खेतमै आगो लगाएको कृषि ज्ञान केन्द्रका प्राविधिक बताउँछन् ।

ज्ञान केन्द्रले अहिले क्षतिको विवरण सङ्कलन गरिरहेको छ । अहिलेसम्म झापाको अढाइसय विघा जग्गामा फड्के कीराको सङ्क्रमण देखिएको कृषि ज्ञान केन्द्र झापाका प्राविधिक शेषराज पौडेलले बताए । ‘फड्के कीराको प्रकोप प्रारम्भिक चरणमा देखिएको छ’, उनले भने, ‘किसानले आगो लगाउन थालेपछि घटनास्थलमा पुगेर हामीले पनि हेरेका छौँ ।’

समयमै थाहा नपाउँदा झापाका किसानले फड्के कीराबाट धानवालीमा भइरहेको क्षति रोक्न नसकेका हुन् । अहिले धान काट्ने सिजनमा बालीसखाप हुन थालेपछि कसरी अन्नको जोहो गर्ने भन्ने चिन्ता थपिएको छ ।