बेचिनबाट जोगिए महिला, दुई जना पक्राउ




झापा–बेचिन लगिएका दुई जना नेपाली महिलाको भारतीय सीमा सुरक्षा वलले उद्धार गरेको छ । सीमावर्ती भद्रपुर नाकाबाट उनीहरुलाई भारत लैजाँदै गर्दा प्रहरीले उद्धार गरेको हो । गैरसरकारी संस्था टाइनी ह्याण्ड्सको सहयोगमा ती महिलाको उद्धार सम्भव भएको सशस्त्र सीमा वल एसएसवीको ४१ औँ बटालियन जनाएको छ ।

वैदेशिक रोजगारीको प्रलोभनको परेर उनीहरुलाई भारत लगिँदै गरेको प्रहरीको दावी छ । घटनामा संलग्न भएको अभियोगमा राजु टुडु (२५) र प्रेमबहादुर तामाङ (५०) पक्राउ परेका छन् । पक्राउ परेका दुवै आरोपी झापाको चन्द्रगढ़ीका बासिन्दा हुन् । एसएसबीका अनुसार एसएसबीको ४१ औं बटालियनकी एसपी मीराको नेतृत्वमा एसएसबी जवानहरूले ती दुई नेपाली महिलालाई बेचिनबाट जोगाएका हुन् । उद्धार गरिएका दुवै महिलालाई एसएसबीले टाइनी ह्याण्ड्सका सदस्यहरूको उपस्थिति नेपाल प्रहरीलाई जिम्मा लगाएको छ ।