गुटले गाँजेको राजनीति



सुब्रत न्यौपाने

नेपालका अधिकाङ्श ठूला राजनीतिक दल आन्तरिक विवादबाट गुज्रिँदै आएका छन् । दलीय विवाद मूलतः शक्ति सन्तलुन, नेतृत्व व्यवस्थापन, गुटगत दम्भ र प्रभावमा आधारित छ । सत्ता समीकरणको अभ्यासमा रहेका राजनीतिक दलहरु यो मामिलाबाट अझ बढी प्रभावित र निर्देशित छन् । यसले देशको समग्र विकासमा गम्भीर असर परेको छ । आन्तरिक कलहको परिणाम पार्टीले ‘रफ्तार’ लिन नसकेको नागरिक बुझाई छ । पार्टी गतिशील नहुँदा त्यसले हाँकेको सरकार प्रभावकारी हुन सक्दैन । सरकार चलायमान हुन नसक्नुको परिणाम विकासमा देखिन्छ । नेपालको राजनीतिमा पार्टीहरुबीच बढेको आन्तरिक कलह विकासको बाधक हो । विवादले सत्ता पक्षको मात्रै होइन, प्रतिपक्षीको भूमिका पनि कमजोर बनाउँछ । यस्तो अवस्थामा देशले विकासमा फड्को मार्न सक्दैन ।

सबै पार्टीहरु आन्तरिक झगडा र झमेलाबाट माथि उठ्न नसक्नुको एउटा महत्वपूर्ण कारण भनेको गुटबन्दी हो । एकले अर्कालाई सिध्याउने, अस्तित्व स्वीकार नगर्ने चिन्तनबाट नेता कार्यकर्ता जब ग्रसित हुन्छन्, त्यसले पार्टीलाई कमजोर बनाउँछ । पार्टी नेतृत्व विधि र प्रक्रियाप्रति इमान्दार हुने हो भने कुनै पनि पार्टीमा गुट उपगुट जन्मिदैन । आन्तरिक विधि र प्रक्रियालाई चुस्त र दुरुस्त बनाउन सकियो भने मात्रै पार्टी बलियो हुने हो । पार्टी बलियो हुनु भनेको सत्तारुढ दलका लागि प्रभावकारी काम गर्ने अवसर हो भने विपक्षीका लागि खरो खबरदारी गर्ने अचुक उपाय पनि हो ।

नेपालमा सत्ता पक्ष कमजोर हुने र प्रतिपक्ष अझै लुलो हुँदै जाने राजनीतिक अभ्यास हुँदैछ । मूलतः ठूला सबै राजनीतिक दलभित्र देखिएको गुटबन्दी यसको कारक मानिन्छ । दलमा आबद्ध तिनका कार्यकर्ताको रवाफ भनेकै आफू अनुकूलको गुट र त्यसले नियमित आर्जन गरेको शक्ति हो । अवसर लिने÷दिने बेलामा बार्गेनिङ गर्ने एउटा आधार भनेको आन्तरिक गुट उपगुट हो । भागशान्ति मिलाउने बेलामा परेको सकस गुटगत आधारमा टुङ्ग्याइएका अनगिन्ति उदाहारण नेपालको राजनीतिक वृत्तमा छरपस्ट छन् । नेपालका ठूला र प्रजातान्त्रिक भनिएका दलहरु यो मनोदशाबाट माथि उठ्न सकेका छैनन् ।

ठूला राजनीतिक दलका भातृ सङ्गठनको अवस्था हेर्ने हो भने पनि नेताहरु आफ्नो गुटमा कसरी सशक्त हुँदैछन् भनेर थाहा पाउन सकिन्छ । नेविसङ्घ, तरुण दल, अनेरास्ववियु, युवा सङ्घ लगायतका भातृ सङ्गठनको नेतृत्व चयन र व्यवस्थापनमा नेताहरु बीच हानाथाप हुँदै आएको छ । आफू र आफ्नो गुट निकटलाई मात्रै जिम्मेवारी दिने साँघुरो मानसिकता नेताहरु बीचमा छ । उप निर्वाचनका लागि उमेद्वार चयन गर्दा पनि यस्तो परिदृश्य प्रकट भयो । अझ सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरिँदा गुटका आधारमा भागवण्डा मिलाइएको विषयले नेकपाभित्र ठूलै बहस र चर्काचर्की भयो ।

हुन त राजनीतिमा जसको गुट बलियो छ, उसैले जिम्मेवारी पाएको देखिन्छ । एउटा अर्थमा गुट राजनीतिक संस्कार बनिसकेको आभाष हुन्छ । तर, यसले पार्टीभित्र नैतिक विचलन सिर्जना गर्छ । निरन्तरको राजनीतिक सक्रियता, योगदान र पार्टी नीतिको पालना गर्नेहरु गुटको बल र प्रभावका आधारमा दबाइन्छन् । तिनको आत्मसम्मान र इमान्दारितालाई गुटले न्याय गर्दैन । चाकडी चाप्लुसी गर्नेहरु ह्वात्तै माथि पुग्छन् । इमान्दारिताको कसीमा उभिएका नेता कार्यकर्ताको आशा भरोसा गुटले क्षणभरमा खरानी बनाइदिन्छ । नेपाली राजनीतिमा गुट शक्तिसञ्चय गर्ने माध्यम मात्रै बनिरहेको छैन, एक अर्काको हुर्मत लिने गैरप्रजातान्त्रिक शैली पनि बन्दै गएको छ । गुटका आधारमा गरिने अभ्यास राजनीतिक निष्ठाको अवमूल्यन हो । यसले व्यक्तिलाई बलियो र स्वेच्छाचारी बनाउँछ । पार्टी भने सधैँ कमजोर हुन्छ ।

निरन्तरको राजनीतिक सक्रियता, योगदान र पार्टी नीतिको पालना गर्नेहरु गुटको बल र प्रभावका आधारमा दबाइन्छन् । तिनको आत्मसम्मान र इमान्दारितालाई गुटले न्याय गर्दैन । चाकडी चाप्लुसी गर्नेहरु ह्वात्तै माथि पुग्छन् । इमान्दारिताको कसीमा उभिएका नेता कार्यकर्ताको आशा भरोसा गुटले क्षणभरमा खरानी बनाइदिन्छ ।

सत्ता समीकरण मिलाउँदा पनि गुट हेरेर अवसर दिने प्रचलन नेपालको राजनीतिमा हावी छ । सांसद र मन्त्री बनाउँदा मात्रै होइन, तल्लो एकाईमा ‘टिकट’ दिने बेलामा पनि गुट उपगुट हेरिन्छ । त्यसैका आधारमा जिताइन्छ र हराइन्छ । गुट हेरेर निर्णय गर्दा राजनीतिक इमान जमान भएका क्षमतावान् नेता कार्यकर्ता किनारा लाग्छन् । लोभीपापी र चाकडीबाजको बोलवाला चल्छ, चलेकै पनि छ । राजनीतिमा इमान्दारिता भन्दा पैसा र गुण्डागर्दी हाबी हुन्छ । गुटले निम्त्याउने भनेको फूट वा विभाजन हो । पार्टीहरु किन फुट्छन् ? यसको मुख्य कारण गुट हो । समान व्यवहार, सन्तुलित जिम्मेवारी व्यवस्थापन र साझा निर्णयको अभावमा गुटले पार्टी भत्काउँछ, फूटाउँछ र बिगार्छ । यो हविगत नेपालका धेरै दलले भोगेका छन् । मधेशवादी दललाई यसको उदाहरणका रुपमा लिन सकिन्छन् । कुन बेला उनीहरु जुट्छन् र कुन बेला फुट्छन् पत्तो हुँदैन । सत्ताको स्वाद चाख्न धेरै लोभ गर्ने र मधेसी जनताको अधिकार प्राप्तिको आन्दोलनलाई सत्ता र स्वार्थमा भँजाउने अप्रिय राजनीतिक अभ्यास मधेशवादी दलभित्र छ ।

नेपालमा सबैभन्दा धेरै गुटगत अभ्यासको अनुभव तत्कालीन एमालेमा छ, ऊ नेपालको राजनीतिमा गुटगत अभ्यासको पर्याय हो भन्दा पनि हुन्छ । नेतापिच्छेका झुण्ड र तिनको बार्गेनिङ ‘पावर’ एमाले राजनीतिमा सधैँ हावी थियोे । नेकपा माओवादी केन्द्रस“गको एकतापछि बनेको नेकपा पनि गुटको शिकार भइरहेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो अभिव्यक्तिमा गुट उपगुट अन्त्य नभए पार्टी सिद्धिने बताउँदै आएका छन् ।

तत्कालीन एमालेका नेता कार्यकर्तामा हिजोको गुटगत राजनीतिको धङ्धङी बाँकी छ, जुन अबको पार्टी जीवनका लागि कठिन चुनौतिको विषय हो । हिजोको संस्कार र अभ्यासबाट तत्कालीन एमालेका नेता कार्यकर्ता कसरी रुपान्तरित होलान् वा आफूलाई गुट उपगुटबाट कसरी मुक्त राख्लान्, त्यो अहिल्यै भन्न सकिन्न । अहिलेकै जसरी गुट उपगुट मौलाउँदै जाने हो भने सबै पार्टीहरु कमजोर हुन्छन्, तिनले चाहेका बेला राष्ट्रिय राजनीतिमा सही र निर्णायक भूमिका निर्वाह गर्न सक्दैनन् । आफ्नै डम्फु बजाउँदैमा उनीहरुलाई ठीक्क हुन्छ ।

गुटगत राजनीतिको दोष तत्कालीन एमालेलाई दिएर मात्र पुग्दैन । नेपाली काङ्ग्रेसभित्र आन्तरिक विवाद झन् डरलाग्दो छ । लाजगाल काङ्ग्रेस नेता कार्यकर्ता पार्टीमा गुट नभएको दावी गर्छन् । यस्ता विवादलाई उनीहरु लोकतान्त्रिक पार्टीभित्रको ‘प्रजातान्त्रिक अभ्यास र परिपक्वता’ ठान्छन् । काङ्ग्रेस गुटलाई लोकतन्त्रभित्रको सुन्दरताका रुपमा पनि व्याख्या गर्छ । काङ्ग्रेसमा लामो समयदेखि संस्थापन र असन्तुष्ट समूहको भिन्नाभिन्नै गुट छ । जतिसक्दो आफ्नो गुटको प्रभावलाई अझै सक्रिय र शक्तिशाली बनाउने सोच सबै पार्टीका नेतामा छ, नेताको फेर समाएर आफूलाई सधैँ शक्तिशाली बनाइरहन चाहने कार्यकर्ता सबै पार्टीमा उत्तिकै सक्रिय छन् ।

पार्टी राजनीतिलाई बलियो र सङ्गठन संरचनालाई चुस्त बनाउन तम्सिएको नेपाली काङ्ग्रेस जागरण अभियान चलाइरहेको छ । घटनाक्रमले काङ्ग्रेस इतिहासकै कमजोर मोडमा छ । शक्ति सञ्चयका हिसावले काङ्ग्रेस ‘भुत्ते’ भयो भन्ने कुरा स्वयम् तिनै पार्टीका नेता कार्यकर्ता बताउँछन् । पार्टी नेतृत्व विधि र प्रक्रियाप्रति इमान्दार हुन नसकेको टिप्पणीका बीच सुरु भएको जागरण अभियानले के काङ्ग्रेसलाई एउटा गतिशील बाटोमा हिँडाउला त ? प्रश्न अनुत्तरित नै छ ।

जनमतका आधारमा काङ्ग्रेस प्रतिपक्षी दल हो । दुई तिहाई बहुमत प्राप्त सरकारको राम्रा कामको समर्थन र नराम्रा कामको डटेर विरोध गर्नु प्रतिपक्षी दलको धर्म हो । तर, यो धर्ममा काङ्ग्रेस डगमगाएको छ । पार्टीभित्रको बेमेल र नेतृत्वमा देखिएको इच्छाशक्ति अभाव यसको मुख्य कारण मानिन्छ ।

काङ्ग्रेस आन्तरिक विधि र प्रक्रियामा चुस्त र दुरुस्त छैन भन्ने अनेकौँ उदाहारणका बीच उसको आक्रोस सरकारविरुद्ध लक्षित छ । कतिपय मुद्दामा काङ्ग्रेस सरकारविरोधी अभियान लिएर सडकमा आइरहँदा उसले गर्ने प्रचार कस्तो हुन्छ वा जनतालाई कस्ता एजेण्डामार्फत कुरा बुझाउँछ भन्ने सवाल अहिलको प्राथमिक विषय हो । जनमतका आधारमा काङ्ग्रेस प्रतिपक्षी दल हो । दुई तिहाई बहुमत प्राप्त सरकारको राम्रा कामको समर्थन र नराम्रा कामको डटेर विरोध गर्नु प्रतिपक्षी दलको धर्म हो । तर, यो धर्ममा काङ्ग्रेस डगमगाएको छ । पार्टीभित्रको बेमेल र नेतृत्वमा देखिएको इच्छाशक्ति अभाव यसको मुख्य कारण मानिन्छ ।

लामो समय सत्ताको बागडोर सम्हालेको अनुभव काङ्ग्रेससँग नभएको होइन । तर, ऊ सत्ता छोड्नु पर्दाको पीडाले विक्षिप्त छ, त्यसमा मुर्छा परेजस्तो देखिन्छ । सरकारको सही समयमा आलोचना र समर्थन गर्न सकिएन भने प्रतिपक्षी दलको धर्म सधैँका लागि सकिन्छ । प्रभावकारी रुपमा समर्थन वा विरोध गर्न नसक्ने परिस्थितिजन्य बाध्यता काङ्ग्रेसका लागि चुनौतिपूर्ण कुरा हो । अब मनगणन्ते भाषणले होइन, विचार र तर्कले सरकारका नराम्रा कामको खबरदारी गर्न काङ्ग्रेसले सक्नुपर्छ । यसका लागि आन्तरिक विवाद र दोषारोपण होइन, एकताको जगमा काङ्ग्रेस उभिनुपर्छ । सरकार हाँकिरहेको दल नेकपा पनि गुटगत राजनीतिमा फसेर अल्मिलिने हो भने जनविश्वास सदाका लागि गुम्ने निश्चित छ । दुई तिहाई जनमत प्राप्त सरकारको विश्वसनियता गुम्नु भनेको मुलुकमा फेरि राजनीतिक अस्थिरता निम्त्याउनु हो । यसलाई रोक्न दलहरु गुटगत राजनीतिको विकृत मानसिकताबाट माथि उठ्नै पर्छ ।