प्रधानमन्त्रीको विशेष दूतका रुपमा नेपाल दिल्ली जाँदै



सरकारले विशेष दूत भारत पठाएर सीमा विवादका विषयमा कुरा गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा अतिक्रमणका विषयमा कुरा गर्न विशेष दूत दिल्ली पठाउने तयारी गरेका हुन् । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई विशेष दूतका रुपमा दिल्ली पठाउने तयारी सरकारले गरिरहेको छ ।

दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्ने गरी नेपाललाई पठाउने तयारी भइरहेको उच्च सरकारी स्रोतले जनाएको छ । स्रोतहरूका अनुसार नेपालको साथमा विशेष दूतको टोलीमा नेकपाका प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई रहने गरी तयारी भइरहेको छ । नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभागका उपप्रमुख विष्णु रिजालले भने केही दिनअघि प्रधानमन्त्रीले कालापानीको विषयमा कुरा गर्न विशेष दूत दिल्ली पठाउन सक्ने बताएका थिए ।

कुनै खास विषयमा विशेष चासोका साथ कुराकानी गर्न यसरी विशेष दूत पठाउने कुटनीतिक अभ्यास रहँदै आएको छ । यसअघि राजा ज्ञानेन्द्रको निरंकुशता सुरु भएपछि राजनीतिक पार्टीहरू र राजाबीच समझदारी बनाउने प्रयास अन्तर्गत भारतीय राष्ट्रिय कांग्रेसका नेता करण सिंह प्रधानमन्त्रीको विशेष दूतका रुपमा नेपाल आएका थिए । त्यस्तै संविधान जारी गर्ने अन्तिम तयारी भएका बेला प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा भारतका तत्कालीन विदेश सचिव एस जयशंकर नेपाल आएका थिए । नेपालका प्रधानमन्त्रीले भने यसरी विशेष दूत भारत पठाउने तयारी गरेको संभवतः यो नै पहिलो पटक हो ।