तीन तलाबाट फाल हानेर भागेका दुई बालक पक्राउ



विराटनगर – विराटनगर–३ स्थित बाल सुधारगृहको तीन तला माथिबाट फाल हानेर भागेका दुई जना बालक पक्राउ परेका छन् । सुधार गृहबाट भागेका उनीहरुलाई चार दिनपछि प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई झापा र मोरङका दुई फरक स्थानबाट एकैदिन पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।

ज्यान मार्ने उद्योग गरेको अभियोगमा झापा गौरदह नगरपालिका –११ का १६ वर्षीय बालक र जबर्जस्ती करणी मुद्दामा मोरङ सुन्दरहरैचा नगरपालिका– ७ गोठगाउँका १७ वर्षीय बालकलाई पुर्पक्षकालागि बाल सुधार गृहमा राखिएको थियो।

झापा जिल्ला अदालतको २०७६ साउन १६ गतेको आदेशपछि ज्यान मार्ने उद्योगको अभियोग लागेका बालक सुधारगृहमा थिए भने जबर्जस्ती करणीको अभियोगमा अर्का बालक २०६७ असार ५ गते सुधारगृह पठाइएको थियो। दुवै जना सोमबार बिहान सुधारगृहको तीन तला माथिको झ्याल फुटाएर भागेका थिए।

झापा गौरदहका बालकलाई शुक्रबार राति र मोरङका बालकलाई शनिबार बिहान पक्राउ गरिएको हो। दुवै जनासँग सोधपुछ भइरहेको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए। विराटनगरमा रहेको बाल सुधारगृहमा प्रदेश १ का १४ जिल्लाका बालबिज्याई गर्ने १ सय ४८ बालबालिकाहरु राखिएको छ।