‘झापा नाटक घर’ बनाउन एकथान इँटा अभियान



बिर्तामोड–क्षितिज नाट्य समूहले बहुजातिय सांस्कृतिक सङ्ग्रहालय सहितको ‘झापा नाटक घर’ निर्माणका लागि ‘एकथान इँटा अभियान’ चलाएको छ । निर्माणाधीन अवस्थाको नाटक घर पूरा गर्न समूहले यस्तो अभियान चलाएको हो । धनी गरीब सबैले अपनत्व अनुभूत गर्न सकुन् भनेर अभियान चलाइएको समूहको अध्यक्ष युवा रङ्गकर्मी माधव कल्पित बताउँछन् । ‘हुनेले मात्र होइन नहुनेले पनि एउटा इँटा सहयोग गर्न सक्छन्’, उनले भने ।

समूहको अभियानप्रति पहिलो पटक झापाका बैङ्कर्सहरुले सहयोगको घोषणा गरेका छन् । ‘एकथान इँटा अभियान’ अन्तरगत समूहले सोमवार बिर्तामोडमा झापाका बैङ्कर्ससँग छलफल गरेको थियो । ‘उहाँहरु व्यक्तिगत रुपमा एउटा इँटा अभियानमा सहभागी हुन सकारात्मक हुनुभयो’, छलफलपछि समूहका अध्यक्ष कल्पितले भने, ‘अब नाटक घरको निर्माणले गति लिन्छ ।’

धनी गरीब सबैले अपनत्व अनुभूत गर्न सकुन् भनेर अभियान चलाइएको समूहको अध्यक्ष युवा रङ्गकर्मी माधव कल्पित बताउँछन् । ‘हुनेले मात्र होइन नहुनेले पनि एउटा इँटा सहयोग गर्न सक्छन्’, उनले भने ।

अध्यक्ष कल्पितका अनुसार झापाका बैङ्कर्सले संस्थागत सहयोगको आश्वासन पनि दिएका छन् । ‘एकथान इँटा अभियान’ अन्तरगत बैङ्कमा कार्यरत हरेक कर्मचारीले एउटा इँटा नाटक घर निर्माणका लागि दिनेछन् । कमर्सियल तथा विकास बैङ्कका प्रमुखहरुको नियमित बैठकमार्फत नाटक घर निर्माणका लागि एकथान इँटा सहयोग गर्ने निर्णय भएको एक्सेल डेभलपमेन्ट बैङकका कार्यकारी प्रमुख दिनेश पोखरेलले बताए । बैठकमा अध्यक्ष कल्पितले नाटक घर निर्माणको सुरुवात र समूहले चलाइरहेको अभियानबारे प्रकाश पारेका थिए ।

असार ११ गते बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार सिवाकोटी र उपप्रमुख पवित्रा महताराले शिलान्यास गरेको नाटक घर आर्थिक अभाव भएपछि निर्माणाधीन अवस्थामा अलपत्र छ । नाटक घर निर्माणका लागि १ करोड २४ लाख रुपैयाँ आवश्यक पर्ने अध्यक्ष कल्पित बताउँछन् । झापा नाटक घर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाईका अनुसार सङ्घ र प्रदेशका सांसदको विकास कोषबाट २५ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । प्रसाईको अगुवाईमा नाटक घर निर्माणमा बिर्तामोडका एक दर्जन सङ्घसंस्था अग्रसर छन् ।

नाटक घर पूर्वको ऐतिहासिक धरोहर हुने भएकाले सबैको सहयोग जरुरी हुने निर्माण समितिका सह संयोजक बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराईले बताए । एक वर्षभित्र नाटक घरको निर्माण सम्पन्न गरी सङ्ग्रहालय निर्माणमा लाग्ने क्षितिज नाट्य समूहका बरिष्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारीले जानकारी दिए ।

बिर्तामोड– १ का मनोज निरौलाले निः शुल्क प्रदान गरेको साढे तीन कठ्ठा जग्गामा नाटक घर निर्माण थालिएको हो । एक बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको झापा नाटक घर ८० फुट लम्बाई र ७० फुट चौडाइको रहनेछ । नाटक घरभित्र दर्शक प्रेक्षालय, कलाकार आवास गृह, भोजनालय, कार्यालयसहित तीन सय ५० जना दर्शक क्षमता भएको भवन हुनेछ । यसअघि झापा नाटक घर निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले समूहले विर्तामोडमा नाटक ‘बर्बरिक’ मञ्चन गरेको थियो ।