बिर्तामोडमा खानेपानीको निर्वाचन तयारी : प्रगतिशील समूहबाट ज्ञानुराम प्रसाई अध्यक्षका दावेदार



बिर्तामोड– बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आसन्न निर्वाचनका लागि नेकपाको नेतृत्वमा प्रगतिशील समूहले उमेद्वार घोषणा गरेको छ । विहीवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी समूहले उमेद्वार घोषणा गरेको हो । प्रगतिशील समूहका तर्फबाट ज्ञानुराम प्रसाई अध्यक्षका रुपमा चुनावी मैदानमा उत्रिएका छन् ।

नेकपाको बिर्तामोड नगर प्रमुख प्रसाई सामाजिक अभियानमा लामो समयदेखि सक्रिय छन् । कुशल व्यवस्थापकीय क्षमता भएका प्रसाईले दर्जनौँ सामाजिक सङ्घसंस्थाको नेतृत्व गरिसकेका छन् । बिर्तामोडमा खानेपानीको बढ्दो माग र व्यवस्थापनमा निर्णायक भूमिका खेल्नसक्ने ठानेर प्रगतिशील समूहले प्रसाईको नेतृत्वमा चुनावी मैदानमा उत्रिने निर्णय गरेको हो ।

कुशल व्यवस्थापकीय क्षमता भएका प्रसाईले दर्जनौँ सामाजिक सङ्घसंस्थाको नेतृत्व गरिसकेका छन् । बिर्तामोडमा खानेपानीको बढ्दो माग र व्यवस्थापनमा निर्णायक भूमिका खेल्नसक्ने ठानेर प्रगतिशील समूहले प्रसाईको नेतृत्वमा चुनावी मैदानमा उत्रिने निर्णय गरेको हो ।

लामो रस्साकस्सीपछि बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन हुन लागेको हो । मङ्सिर २५ गते हुने निर्वाचनका लागि प्रगतिशील समूहका तर्फबाट उपाध्यक्षमा बुद्धि घिमिरे चुनावी मैदानमा छन् । सचिवमा जनबहादुर जवेगु (जेवी) र कोषाध्यक्षमा कमल पौडेललाई अघि सारिएको छ ।

यस्तै सदस्यहरु पुरुषतर्फ शंकरराज ढुङ्गेल, श्रीप्रसाद सिटौला, महिला सदस्यमा सीता सापकोटा र हिमादेवी प्रसाईलाई उम्मेद्वार बनाइएको छ । थप एकजना महिला सदस्य टुङ्गो लगाउन बाँकी रहेको प्रचार समितिले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका दावेदार प्रसाईले आफ्नो प्यानलले खानेपानीको नेतृत्व गर्न पाए वैकल्पिक उर्जाको प्रयोगबाट सहुलियत दरमा उपभोक्तालाई पानी बितरण गर्ने बताए ।

प्रचार समितिका संयोजक युवराज दाहाल वर्षाैदेखि एउटै नेतृत्व रहँदा खानेपानीमा अपेक्षित सुधार आउन नसकेको बताउँछन् । ‘बिर्तामोड खानेपानीमा उपभोक्ताले यसपटक नयाँ नेतृत्व खोजेका छन्’, उनले भने । यसअघि जलकुमार गुरुङ अध्यक्ष रहेको समितिले निर्वाचन गर्ने समय समेत हेक्का नराखेको उनले बताए ।