खानेपानीमा लम्बियो काङग्रेसको एकछत्र राज : अध्यक्ष गुरुङका अगाडि यस्ता छन् चुनौतिका चाङ



खानेपानीमा काङ्ग्रेसको एकछत्र राज फेरि लम्बिएको छ । सहरी संरचनामा खानेपानीको बितरण, व्यवस्थापन र जनघनत्व अनुसार पाइप लाइन विस्तारको काम तीव्ररुपमा अघि बढ्न नसकिरहेका बेला उसको नेतृत्व आगामी कार्यकालका लागि पनि अनुमोदित भएको हो ।

यद्यपि, बुधवार सम्पन्न निर्वाचनले बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था राजनीतिक दाउपेच, कार्यदिशा र मनोविज्ञानबाट माथिउठ्न सक्दैन भन्ने देखाएको छ । यसको एउटा कारण मतदाता राजनीतिक मनोदशाबाट मात्रै ग्रसित छन् । उनीहरु पार्टीका कार्यकर्ता मात्रै हुन्, जसले निर्वाचनमा आफ्नो बफादारिता देखाए ।

मतदाताले निर्वाचनमा होमिएका उमेद्वार, तिनको कार्यगत क्षमता, व्यक्तित्व र सामाजिक परिचालनको बस्तुनिष्ठ समीक्षा गर्न नसकेको देखिएको छ । यसको मतलव प्रगतिशील समूहले जित्नु पर्छ भन्ने हुँदै होइन । राजनीतिक मनोविज्ञानबाट मतदाता माथिउठेका भए निर्वाचन परिणाम मिश्रित आउने थियो । अध्यक्ष यो होस् वा ऊ ।

निर्वाचनमा हारजीत स्वभाविक भए पनि नवनिर्वाचित अध्यक्ष जलकुमार गुरुङ नेतृत्वको समितिलाई अब खानेपानीमा कमजोर कार्यशैली देखाइरहने छुट छैन । आन्तरिक व्यवस्थापन सुधारदेखि थप आयोजनाको काम अघि बढाउने अभियानमा समितिले अपनाउने कार्यशैलीमाथि राजनीतिक तहबाटै प्रश्नहरु उठ्छन् भन्ने यो निर्वाचनले देखाउँछ ।

प्रगतिशील समूहका तर्फबाट अध्यक्षका दावेदार ज्ञानुराम प्रसाईले प्राप्त गरेको ९२० मत गुरुङ नेतृत्वको कार्यशैलीप्रति सन्तुष्ट छैन भन्ने प्रमाण पनि हो । यसले खानेपानीको निर्वाचन स्वतन्त्र होइन, दलीय आधारमा थियो भन्ने पुष्टि मात्रै गर्दैन, पाइप लाइन विस्तार र धारा वितरण छानी छानी गर्ने यसअघिको अभ्यासमा पनि बार लगाइदिन्छ ।

नेतृत्व चयनका लागि भएको निर्वाचनले खानेपानीको धारा जोडेपछि महसुल तिर्नु पर्दाेरहेछ भन्ने हेक्का पनि धेरैलाई भएको छ । सदस्यता नवीकरण अनिवार्य गर्नुपर्छ भन्ने मानसिकताको विकास निर्वाचनले गरेको छ । अध्यक्षमा गुरुङ दोस्रो कार्यकालका लागि निर्वाचित भइरहँदा अघिल्लो कार्यकालमा उनले गरेका प्रतिवद्धताको कार्यान्वयन प्रभावकारी थिएन भन्ने स्वयम् उनलाई थाहा छ ।

तीनै तहका सरकारसँगको कमजोर समन्वयले खानेपानी विस्तारको अभियान प्रभावकारीरुपमा अघि बढ्न सक्दैन भन्ने हेक्का राख्ने हो भने उपभोक्ताले चाहे अनुसारको विकास हुन सक्छ । तर, बिर्तामोडका उपभोक्ताले आफूलाई जति सचेत र ठालु ठाने पनि गुरुङ र यसअघि टोरुप प्रसाईको कार्यकालमा सरसफाईका क्षेत्रमा सिन्को नभाँचिएको विषय बिर्सिनु आत्मरतिमा रमाउनु मात्रै हो ।

बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको दायित्व पानीको बितरण मात्रै होइन, सरसफाई र स्वच्छता कायम गर्नु पनि हो । यसमा समितिले काम अघि बढाउनुको विकल्प छैन । १७०४ मत ल्याएर बिजयी भएका अध्यक्ष गुरुङका अगाडि चुनौतिका चाङ छन् । यसअघि मेयरमा हारेर लागेको पराजयको घाउ मेट्ने अवसर मात्रै छैन, खानेपानीमा अझै लोकप्रिय रुपमा काम गर्ने अवसर गुरुङलाई छ ।

गुरुङको जीतका लागि काङग्रेस केन्द्रको पनि चासो थियो । खानेपानीको निर्वाचन काङ्ग्रेसका लागि प्रतिष्ठाको विषय भएको भन्दै नेताहरु मत माग्न कस्सिएर लागेका थिए । परिणाम अनुसार खानेपानीमा लोकतान्त्रिक समूहका सबै उमेद्वार बिजयी भएका छन् । उपाध्यक्षमा निर्वाचित पर्शु सिटौलाले १६३७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी बुद्धि घिमिरेले ९१८ मत ल्याए ।

सचिवमा मेघराज बाँस्तोला बिजयी भएका छन् । बाँस्तोलाको परिचित छविसँग प्रगतिशील समूहका जनबहादुर जवेगुले दोब्बर भन्दाबढी मतले हार व्यहोर्नु परेको छ । बाँस्तोलाले १७३८ मत ल्याइरहँदा जवेगुले ८३८ मत ल्याएका छन् । कोषाध्यक्षमा लोकतान्त्रिक समूहकी शारदा रिजाल बिजयी भइन् । उनी राप्रपाबाट काङ्ग्रेससँगको गठबन्धनमा उमेद्वार भएकी थिइन् । उनका प्रतिस्पर्धी कमल पौडेलले १०४७ मत ल्याए । रिजालले भने १५१० मत ल्याइन् ।