आयातमा प्रतिबन्ध लागेपछि नेपालमै बङ्गलादेशी जुस उत्पादन गर्ने तयारी



आयात रोकिएपछि बंगलादेशी बहुराष्ट्रिय कम्पनी प्रान फूड्सले नेपालमै जुस उत्पादन गर्ने भएको छ । सरकारले इनर्जी ड्रिक्स र सिन्थेटिक जुस आयातमा पूर्ण प्रतिबन्ध लगाएपछि बंगलादेशी कम्पनीले नेपालमै उत्पादनको प्रक्रिया अघि बढाएको हो । प्रानको जुस वार्षिक साढे दुई अर्बको बिक्री हुन्छ । गर्मी महिनामा नेपालमै प्रानका जुस उत्पादन भएर बिक्री सुरू हुनेछ ।

कम्पनीले नेपालमा आउटसोर्सिङमार्फत जुस उत्पादन गर्नेछ । नेपालमा प्रानका उत्पादन बिक्री वितरण गरिरहेको अदत फूड्सले जुस उत्पादन गर्ने भएको हो । अदतले नेपालमै प्रान ब्राण्डको पोट्याटो क्रयाकर समेत उत्पादन गर्दै आएको छ । मूलपानीमा रहेको उद्योगबाट उत्पादित क्रयाकर नेपालमा केही वर्षमै लोकप्रिय बनेको थियो ।

अदतले बुटवलमा रहेको उद्योग भाडामा लिएर प्रानका जुस उत्पादन गर्न लागेको हो । अहिले उद्योग अपग्रेडेसनको काम भइरहेको छ । कम्पनीले नयाँ मेसिन थपेर गुणस्तरीय जुस उत्पादन गरिने जनाएको छ ।

‘अहिले हामीले उद्योग अपग्रेडेसनको काम गरिरहेका छौँ । सञ्चालनमा रहेको उद्योगमा १५ करोड रुपैयाँ लगानी थप हुनेछ । चीन र जर्मनीबाट मेसिनरी ल्याइनेछ’, अदत फूड्सका सञ्चालक रवि केसीले भने, ‘हामी बंगलादेशको गुणस्तरको जुस उत्पादन गर्नेछौं ।’ उनका अनुसार सुरूमा लिची र फ्रुटो ब्राण्डको जुस मात्रै उत्पादन हुनेछ ।

जुस आयातमा प्रतिवन्ध लगाएपछि जेठ अन्तिम साता प्रानका अध्यक्ष एहसान खान चौधरी नेपाल आएका थिए । उनले काठमाडौं, पूर्व र मध्य नेपालको जुस उद्योगको स्थलगत भ्रमण गरेर स्थानीय उद्योगले प्रयोग गरिरहेको प्रविधि र जुसको गुणस्तरबारे चासो राखेका थिए । चौधरीले उद्योगीबाहेक अर्थशास्त्री डा. पोषराज पाण्डेसँग समेत छलफल गरेका थिए ।

जग्गा खरिद गरेर पूर्वाधार निर्माण र उत्पादन सुरू गर्न एकदेखि दुई वर्ष लाग्ने भएकोले तत्कालै उत्पादन थाल्ने विकल्पबारे प्रान फुड्सले अध्ययन र स्थानीय उद्योगसँग सम्भावित साझेदारीको विषयमा छलफल गरेको थियो । प्रानले जुस र क्रयाकर बाहेक चकलेट, चुइङगम पनि नेपालमा बिक्री गर्छ । प्रानले बाराको सिमरामा आफ्नै लगानीमा चकलेट चुइङगम, वेफर (कन्फेक्सनरी) लगायतको उत्पादन गर्ने उद्योग सञ्चालन गरिरहेको छ ।