करिश्मा र शान्ताको पिएचडी गर्ने सौख



मानिसका लागि औपचारिक शिक्षा कति महत्वपूर्ण हुन्छ भनी सावित गरेका पछिल्लो समयका पात्र हुन्, नेपाली फिल्म नगरीका चर्चित अभिनेत्री करिश्मा मानन्धर र नेकपा नेता एवम् सांसद शान्ता चौधरी । विविध कारणवश बीचैमा पढाइ छोडेका उनीहरूले पुनः स्कुले जीवनमा फर्किंदै गत वर्षको एसईई परीक्षा दिएका थिए । र, मानन्धर ‘बी प्लस’ र चौधरी ‘बी’ ग्रेडमा उत्तीर्ण हुँदै हाल उच्च शिक्षा अध्ययन गरिरहेका छन् ।

बुक वर्म फाउन्डेसनले फेवाताल किनार बाराहीघाटमा आयोजना गरेको आठौं संस्करणको ‘आईएमई नेपाल लिटरेचर फेस्टिभल–२०१९’ मा उनीहरू दुवैलाई पाठक तथा दर्शकमाझ उभ्याइयो । फेस्टिभलमा सेसनको शीर्षक थियो–अध्ययनको भोक । मानन्धर र चौधरी दुवैले आफूहरूले पुनः अध्ययनलाई निरन्तरता दिनुको मुख्य कुरा जोड्दै पीएचडी गर्ने धोको रहेकोसम्म सुनाए । उनीहरूले पठन अभिरुचिबारे समाजमा सचेतना जगाउनुपर्ने सन्देश दिए ।

पानीपछि घमाइलो बनेको मौसमबीच सांसद चौधरीले १८ वर्षसम्म कमलरी बस्नुपरेको कारण पढाईलाई बीचैलाई छोड्नुपरेकोे जानकारी दिँदै नपढेकै कारण संसद् भवनमा अपमानित महसुस गरेको हुँदा अध्ययनको भोक जागेको बताइन् । उनले पहिलोदिन कक्षाकोठामा छिर्दा साना साना विद्यार्थीले आफूलाई म्याडम पढाउन आउनुभो भनी झुक्किएकोसम्म सुनाइन् । उनले भनिन्, अचेल महिनामा ४÷५ दिन बाहेक क्याम्पस जान पाउँदिन, तैपनि पढाईलाई निरन्तरता दिएकी छु किनकि मेरो पीएचडी गर्ने धोको छ ।’

मानन्धर र चौधरी दुवैले आफूहरूले पुनः अध्ययनलाई निरन्तरता दिनुको मुख्य कुरा जोड्दै पीएचडी गर्ने धोको रहेकोसम्म सुनाए । उनीहरूले पठन अभिरुचिबारे समाजमा सचेतना जगाउनुपर्ने सन्देश दिए ।

त्यस्तै, अभिनेत्री मानन्धरले कक्षा ८ देखि पुन ः विद्यालय भर्ना भई केही वर्ष पढाइप्रति ध्यान दिँदा राम्रै ढंगले एसईई उत्तीर्ण गर्न सफल भएको सुनाइन् । नेपाली फिल्मीनगरीमा सफल अभिनेत्री भइरहँदा बीचमा अमेरिका हानिनुको कारण सुनाउँदै उनले पुनः नेपाल कसरी फर्किएँ भन्नेसम्म सुनाइन् । अमेरिकामा एकदिन गाडीमा हिड्ने क्रममा कर्ण शाक्यको ‘सोच’ पढेको र त्यसमा मातृभूमि छोडेको मानिसले विदेशमा रहँदा नेमलेस, रुटलेस र फेसलेस गुमाउँछ भन्ने शाब्दिक अर्थले छुँदा स्वदेश फर्किएको सुनाइन् । फिल्म क्षेत्रमा व्यस्त रहँदा टुटेको पढाइलाई निरन्तरता दिएको स्पष्ट पारिन् ।

उनले भनिन्, ‘शिक्षाले मानिसलाई ज्ञानी बनाउने रहेछ । शिक्षित बनाउने हैन ।’ प्रस्तोता सविना कार्कीले चौधरी र मानन्धरलाई अध्ययनको भोकमा विभिन्न कोणबाट जिज्ञासा राख्दै दर्शकलाई मन्त्रमुग्ध पारेकी थिइन् । सांसद चौधरीको ‘कमलरीदेखि सभासदसम्म’ पुस्तक प्रकाशित छ ।