बर्सेनि १० हजार मानिस आँखा प्रत्यारोपणको पखाईमा




जनचेतनाको अभावमा आँखा दान गर्नेको सङ्ख्या बढ्न नसकेको सरोकारवालाले औँल्याएका छन् । मेची आँखा अस्पतालले सोमवार बिर्तामोडमा गरेको अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले अहिले पनि मानिसमा आँखा दानका विषयमा भ्रम रहेको बताएका हुन् ।

नेपालमा बर्सेनि सरदर १० हजार जनाको आँखा प्रत्यारोपण गर्नुपर्ने अवस्था छ । तर, मुस्किलले ११ सय जनाले मात्रै आँखा प्रत्यारोपणको अवसर पाउँछन् ।

‘आँखा दान गर्दा अर्काे जन्ममा दृष्टिविहीन भएर जन्मिइन्छ भन्ने भ्रम धेरै मानिसमा छ’, तिलगङ्गा आँखा अस्पतालका सिनियर प्राविधिक तथा प्रशिक्षक इजन राजभण्डारी भन्छन्, ‘यही भ्रमका कारण धेरै मानिस आँखा दान गर्न डराउँछन् ।’ उनले आँखा दानप्रतिको भ्रम निवारण गर्न जनचेतना जगाउनुपर्ने आवश्यकता आँैल्याए । तिलगङ्गा आँखा अस्पतालले आँखा दानलाई संस्कारकै रुपमा विकास गर्न चाहेको उनले बताए ।

पूर्वमा चारवटा स्वास्थ्य सेवा प्रदायक संस्थाले आँखा दानका लागि मानिसलाई प्रेरित गर्दै आएका छन् । झापामा मेची आँखा अस्पताल र मेची नेत्रालय काँकडभिट्टाले आँखाको नानी सङ्कलन गरेर काठमाडौँस्थित तिलगङ्गा आँखा अस्पताल पठाउँछन् । मोरङमा विराटनगर आँखा अस्पतालले र सिराहामा लहान आँखा अस्पतालले आँखाको नानी सङ्कलन गर्छन् । वर्षमा २० देखि ३० वटा आँखाको नानी चारवटा संस्थाबाट सङ्कलन हुने गरेको राजभण्डारीले जानकारी दिए ।

तर, राजधानीबाहिर मुस्किलले पाँच प्रतिशत मात्रै आँखा दान हुने गरेको तथ्याङ्क छ । मागको ९५ प्रतिशत हिस्सा काठमाडौँले ओगट्छ । तर, माग अनुसार आँखाको नानी प्रत्यारोपण गर्न नसकिएको राजभण्डारी बताउँछन् । नेपालमा बर्सेनि सरदर १० हजार जनाको आँखा प्रत्यारोपण गर्नुपर्ने अवस्था छ । तर, मुस्किलले ११ सय जनाले मात्रै आँखा प्रत्यारोपणको अवसर पाउँछन् । गतवर्ष तिलगङ्गा आँखा अस्पतालले १०४५ जनाको आँखाको नानी प्रत्यारोपण गरेको थियो ।