एकैपटक चारवटा खोप दिँदा शिशुको मृत्यु



एकैपटक चारवटा खोप लगाएपछि इलाममा डेढमहिने शिशुको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–४ सिमलटारस्थित सिमलटार सामुदायिक स्वास्थ्य इकाइमा एकैपटक चारवटा खोप लगाइएपछि डेढ महिनाकी बुनु देवानको मृत्यु भएको हो ।

विसिजी, एफआइटिभी, डिपीटी र पिभीसी खोप एकैपटकमा लगाएपछि बिरामी भएकी देवानलाई विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको लागि लगिएको थियो । यता स्वास्थ्यकर्मीहरुले खोपकै कारण शिशुको मृत्यु भएको भन्ने प्रमाण नभएको बताएका छन् । मृतकको परिवार र स्वास्थ्यकर्मीबीच भएको छलफलका सहभागी आदिपुर स्वास्थ्य चौकीका अहेव सुरेन्द्र साम्बाले खोपकै कारण बच्चाको मृत्युभएको प्रमाण नभएको बताए ।

सिमलटार सामुदायिक स्वास्थ्य इकाइमा कुमारी योङहाङ र सन्ध्या कार्की स्वास्थ्यकर्मीका रुपमा कार्यरत छन् । शिशुलाई खोप लगाउँदा उनीहरु नै संलग्न थिए । माङसेबुङ गाउँपालिका–४ का वडाध्यक्ष अमृत राईले घटनाको बारेमा आफूले ढिलो मात्र जानकारी पाएकाले केही गर्न नसकिएको बताए ।

यसैबीच पीडित परिवारलाई गाउँपालिकाका तर्फबाट आर्थिक सहयोग उपलब्ध गराइदिने शर्तमा घटना टुङ्गाइएको छ । मृतकका परिवारले राहत लिन वडा कार्यालयबाट सिफारि लिइसकेको वडाअध्यक्ष राईले जानकारी दिए ।