एक हजार विद्यार्थीलाई न्यानो कपडा बाँड्ने अभियान सुरु



सरकारी विद्यालयमा पढिरहेका बिपन्न समुदायका बालबालिकाका लागि न्यानो कपडा बितरण अभियान सुरु भएको छ । सामाजिक अभियन्ताहरुको अग्रसरतामा विभिन्न विद्यालयमा अभियान सुरु गरिएको हो । अभियानको प्रारम्भमा सोमवार बिर्तामोड–९ को देवकोटा आधारभूत विद्यालयमा न्यानो कपडा बितरण गरिएको छ ।

विद्यालयका ११५ जना बालबालिकालाई न्यानो कपडा बाँडिएको हो । बिर्तामोड नगरपालिकासँगको समन्वयमा ती विद्यार्थीले स्वीटर र टोपी पाएका हुन् । सरकारी विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीलाई न्यानो कपडा बाँड्ने अभियानमा बिर्तामोड नगरपालिकाले एकलाख रुपैयाँ सहयोग गरेको उपप्रमुख पवित्रा महतारा प्रसाईले बताइन् ।

‘विपन्न बालबालिकाले जाडोमा काम्दै स्कूल आउनुपर्ने बाध्यता छ’, उनले भनिन्, ‘यसको अन्त्यका लागि सामाजिक अभियन्ताहरुले थालेको अभियानमा नगरपालिकाले पनि सहयोग गरेको हो ।’ उनले विद्यालय शिक्षाको गुणस्तर सुधार्न नगरपालिका सधैँ गम्भीर र चनाखो रहेको बताइन् । जाडो मौसम शुरु भएसँगै न्यानो कपडाको अभावमा बिपन्न बालबालिकाको अवस्था दयनीय भइरहेका बेला स्वतस्फूर्त रुपमा अभियान चलाइएको अभियानका संयोजक सरोज पौडेल बताउँछन् ।

उनको अग्रसरतामा थालिएको अभियानमा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वले सहयोग गरेका छन् । ‘कसैले आर्थिक त कसैले न्यानो कपडा दिएर अभियानमा सहयोग गरिरहनु भएको छ’, संयोजक पौडेलले भने, ‘सहयोग जुट्ने क्रम जारी छ ।’ उनले थप सहयोगका लागि अपिल गर्दै सहयोगी मनहरुलाई धन्यवाद पनि दिएका छन् ।

अभियानका कोषाध्यक्ष किशोर पौडेलका अनुसार यसपटक सरकारी विद्यालयमा अध्ययनरत एकहजार विद्यार्थीलाई न्यानो कपडा बितरण गर्ने लक्ष्य राखिएको छ । अभियानको लक्ष्य अनुसार सहयोग मिलिरहेको पौडेलले बताए । ‘जाडोमा कोही पनि विद्यार्थीले न्यानो कपडाको अभाव झेल्नु नपरोस् भन्ने अभियानको चाहना हो’, उनले भने, ‘सकैसम्म धेरै विद्यार्थीलाई अभियानमार्फत समेट्ने लक्ष्य छ ।

कार्यक्रममा वडा नम्बर–९ की अध्यक्ष पवित्रा पाठकले अभियानका सबै सहयोगीलाई धन्यवाद दिइन् । विद्यालयका प्रधानाध्यापक मुकुन्द रेग्मीले विपन्न बालबालिकाको शिक्षामा सघाउने अभियानको पहल आफैँमा सकारात्मक भएको भन्दै खुशी व्यक्त गरे ।