अध्यक्ष भट्टराईले बाँडे तीनसय एकल महिला र बृद्धबृद्धालाई न्यानो कपडा



‘प्रार्थना गर्ने ओठहरु भन्दा सेवा गर्ने हातहरु महान् हुन्छन्’, बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराईलाई यही भनाईले निरन्तर छोयो । तर, के गर्ने ? उनले सोचाई बनाए । पुसको यो ठिहीमा उनलाई एउटा विचार आयो । उनले तत्काल आफ्ना अग्रज पर्शुराम भट्टराई र बिर्तामोड वडानम्वर–८ का कार्यवाहक अध्यक्ष दीपक भट्टराईसँग सल्लाह गरे । उनीहरुबीच कठ्याङग्रिदो यो जाडोमा गरामनीको वडानम्वर–४ का एकल महिला र बृद्धबृद्धालाई न्यानो कपडा बितरण गर्ने सल्लाह भयो ।

आइतवार मध्यान्ह अध्यक्ष भट्टराई गरामनी पुग्दा हल खचाखच थियो । हलमा बसेका एकल महिला र बृद्धबृद्धा उनकै पर्खाइमा थिए । वडा नम्वर–८ ले संयोजन गरेको कार्यक्रममा बसेका तीनसय भन्दाबढी एकल महिला र बृद्धबृद्धालाई अध्यक्ष भट्टराईले स्वीटर प्रदान गरे । कतिपयलाई दोसल्ला ओडाए । ‘तपाईहरुको सम्मान गर्न आएको छु’, उनले भने, ‘पवित्र मनले गरेको सहयोग स्वीकार गर्दिनु होला ।’ जेष्ठ नागरिकको सम्मानका लागि आफू सधैँ प्रतिवद्ध रहेको दोहो¥याउँदै उनले जाडोका बेला उपयुक्त हुने ठानेर न्यानो कपडा बितरण गरेको बताए ।

‘तपाईहरुको आशीर्वादले मलाई सामाजिक सेवामा सक्रिय हुन अझै हौसला र प्रेरणा दिन्छ’, अध्यक्ष भट्टराईले भने, ‘आगामी दिनमा सकेको सहयोग गर्न तत्पर छु ।’ वडाका कार्यबाहक अध्यक्ष भट्टराई पुन्यको काम भएको बताउँछन् । ‘उहाँलाई भित्रैदेखि आभार व्यक्त गर्छु’, उनले भने, ‘तपाईहरुसँग भेटेर भलाकुसारी गर्ने वातावरण मिलेको छ । यसका लागि कुमारजी धन्यवादको पात्र हुनु हुन्छ ।’ ८० वर्षीय पर्शुराम भट्टराईले पक्षपात नगरी सबै बृद्धबृद्धा र एकल महिलालाई न्यानो कपडा बितरण गरिएकोमा खुशी व्यक्त गरे । गणेश टोल विकास संस्थाका अध्यक्ष हरि गौतम जाडोमा न्यानो कपडा बाँडेर भट्टराईले प्रशंसनीय काम गरेको बताउँछन् ।