स्वास्थ्य र उत्पादन क्षेत्रमा लगानी बढाउँदै कर्णाली सहकारी



झापाको बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले स्वास्थ्य र उत्पादन क्षेत्रमा लगानी बढाउँदै लैजाने नीति अघि सारेको छ । संस्थाको आइतबार हुने १९औँ साधारणसभाको पूर्वसन्ध्यामा शनिवार आयोजित पत्रकार सम्मेलनमा संस्थाले आगामी लक्ष्यबारे जानकारी दिएको हो ।

संस्थाका अध्यक्ष टीएस श्रेष्ठले सदस्यलाई आत्मनिर्भर बनाउन र स्वास्थ्य सेवाको प्रत्याभूति दिलाउन स्वास्थ्य र उत्पादन क्षेत्रमा लगानी गर्ने आगामी योजना रहेको बताए । ‘कर्णालीले सदस्यमूखी विभिन्न कार्यक्रममार्फत् उत्पादनमूलक क्षेत्रमा लगानी गरिरहेकै छ’, उनले भने, ‘संस्थागत रुपमा पनि यसलाई प्राथमिकताका साथ अघि बढाउने योजना छ ।’

कर्णालीले आर्थिक वर्ष २०७६÷०७७ मा उत्पादन क्षेत्रमा करिब ५ करोड रुपैयाँ लगानी गर्ने योजना बनाएको छ । यसबाहेक सहकारी अस्पताल सञ्चालनको सम्भाव्यताबारे अध्ययन गरिरहेको छ । सरकारले अघि सारेको ‘एक सदस्य, एक सहकारी’ अभियानलाई सफल पार्न संस्था संख्यात्मक भन्दा पनि गुणात्मक सदस्य बनाउनेतर्फ अग्रसर भएको संस्थाका सचिव भूपाल बस्नेत बताउँछन् ।

कर्णालीमा १९ हजार १६० महिला र १० हजार ३३ जना पुरुष सदस्य छन् । आगामी आर्थिक वर्षमा उक्त संख्यामा ५ हजार ९७६ जना बृद्धि गरी ३५ हजार १६९ बनाउने लक्ष्य राखिएको छ । संस्थाले १७ वटा सेवा केन्द्रमार्फत सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । झापासहित इलाम र मोरङमा १३ वटा सेवा केन्द्र थप गरी तीन जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने लक्ष्य संस्थाको छ ।

आर्थिक वर्ष २०७५÷२०७६ मा २६ करोड ६८ लाख ३२ हजार २४ रुपैयाँ आम्दानी गरेको संस्थाले ५ करोड ५ लाख २० हजार ४६० रुपैयाँ खुद नाफा गरेको संस्थाका उपाध्यक्ष ईश्वरीप्रसाद खरेलले बताए । संस्थाको २२ करोड ३६ लाख ८८ हजार ४ सय रुपैयाँ शेयर पुँजी रहेको छ । कोष तथा अन्य दायित्वमा २५ करोड ९४ लाख २४ हजार १२२ रुपैयाँ रहेको संस्थाको प्रगति प्रतिवेदनमा उल्लेख छ ।

अध्यक्षमा पुनः टीएस
संस्थाको सञ्चालक समितिको अध्यक्षमा पुनः टसबहादुर श्रेष्ठ चयन भएका छन् । आगामी चार वर्षे कार्यकालका लागि श्रेष्ठको नेतृत्वमा नौ सदस्यीय सञ्चालक समिति गठन भएको छ ।
संस्थाको उपाध्यक्षमा इश्वरीप्रसाद खरेल, सचिवमा भूपाल बस्नेत, कोषाध्यक्षमा एकराज विष्ट चयन भएको निर्वाचन समिति सदस्य नरबहादुर बस्नेतले जानकारी दिए । त्यस्तै, सदस्यहरुमा गणेशप्रसाद पराजुली, जानुकादेवी ओली, कुमारीदेवी खड्का, गुञ्जन थापा र निर्मला पाठक चयन भएका छन् ।
संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजकमा रामकुमार गौतम, सदस्यमा मनकुमार बेघा र निलम प्रधान चयन भएको निर्वाचन समिति सदस्य बस्नेतले बताए । समितिले १९ औँँ साधारणसभाको अवसरमा आइतबार पद तथा गोपनियताको सपथ ग्रहण गर्ने जनाइएको छ ।