अपाङ्गता भएका बालबालिकालाई अमेरिकाबाट एकलाख सहयोग



बिर्तामोड–लभ एण्ड सपोर्ट फाउण्डेशन नेपालले अपाङ्गता भएका १० जना बालबालिकालाई नगदसहित लत्ताकपडा सहयोग गरेको छ । अपाङ्गता वाल शिक्षा सेवा केन्द्र अर्जुनधारा–६ कप्तानवारीका १० जना बालबालिकालाई फाउण्डेसनले एकलाख ५ हजार रुपैयाँ र जाडोको लत्ताकपडा वितरण गरेको हो ।

फाउण्डेसनका अध्यक्ष मनोज राईले २५ हजार र लत्ताकपडा तथा सदस्य सुमन तामाङले ८० हजार रुपैयाँ सहयोग उपलब्ध गराएका हुन् । झापाको खुदुनावारीस्थित भुटानी शरणार्थी शिविरका पूर्व सचिव राई शरणार्थी पुनर्वास योजनापछि हाल अमेरिकामा बस्छन् । राई र तामाङले पठाएको सहयोग रकम र लत्ता कपडासहित संस्थाका तर्फबाट गीतकार बुद्धबीर लामा र धावक बैकुण्ठ मानन्धर झापा आएका थिए ।

संस्थाले शनिवार कार्यक्रम आयोजना गरी अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानामार्फत रकम र लत्ता कपडा हस्तान्तरण गरेको हो । रानाले अपाङ्गता भएका बालबालिका लागि गरिएको सहयोग सराहनीय भएको भन्दै राई, तामाङ र संस्थालाई धन्यवाद दिए । अपाङ्गता वाल शिक्षा सेवा केन्द्रका अध्यक्ष कृष्ण दुलालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।