भद्रपुर नगरपालिकाद्वारा नेपाल घुम्न भारतीयलाई निम्तो




गंगा बराल
भद्रपुर । नेपाल भ्रमण वर्ष शुभारम्भको अघिल्लो दिन झापाको पहिलो नगरपालिका भद्रपुरले भारतीयहरुलाई नेपाल घुम्न निम्तो दिएको छ ।
मंगलबार नगर प्रमुख जीवनकुमार श्रेष्ठको नेतृत्वमा भारतको ठाकुरगञ्ज पुगेको नगरपालिकाको टोलीले भारतीय नागरिकलाई नेपाल भ्रमण वर्षबारे जानकारी गराउँदै नेपाल घुम्न आउन निम्तो दिएको हो ।
गलगलिया हुँदै ठाकुरगञ्ज पुगेको नगरपालिकाको टोलीले त्यहाँ पत्रकार सम्मेलन गरी भारतीयहरुलाई सार्वजनिक रुपमा निमन्त्रणा गर्नुका साथै नेपालका पर्यटकीयस्थल र त्यहाँसम्म पुग्ने मार्गचित्र प्रस्तुत गरेको छ । भद्रपुरमा रहेका पर्यटकीय तथा धार्मिक स्थलहरुका बारे पनि जानकारी गराइएको छ ।
भद्रपुरबाट झण्डै १० किलोमिटरको दूरीमा रहेको ठाकुरगञ्जको भवनमा आयोजित पत्रकार सम्मेलनमा भारतीय पत्रकारहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो । भद्रपुर नगरपालिकाको टोलीमा उपप्रमुख चन्द्रा श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठ, भारतसँगको सिमानासँग जोडिएको भद्रपुर वडा नम्वर ५ का अध्यक्ष बन्धु कार्कीलगायत नेपाली सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।


नगरप्रमुख श्रेष्ठको अध्यक्षतामा पत्रकार गोपाल गिरीले सञ्चालन गरेको पत्रकार सम्मेलनमा नगरपालिकाका इञ्जिनियर आरिफ अलिले श्रव्य दृश्यमार्फत नेपालका पर्यटकीय तथा रमणीय स्थलहरुका बारे प्रस्तुति दिएका थिए । नेपालको श्रव्य दृश्य त्यहाँ उपस्थित राजनीतिक दलका नेतागण, नागरिक अगुवा, पर्यटन अभियन्ता तथा पत्रकारहरुले चासोपूर्वक अवलोकन गर्नुका साथै आफू पनि नेपाल घुम्न आउने र नेपाल भ्रमणका लागि भारतीय नागरिकलाई प्रेरित गर्ने विश्वास दिलाएका थिए ।
अन्तरक्रियात्मक बनाइएको पत्रकार सम्मेलनमा नेपाल घुम्न आउने भारतीय पर्यटकलाई घुमफिरका लागि सहज वातावरण तयार गरिदिन भारतीय पक्षले नेपाली टोलीलाई आग्रह गरेको थियो ।
पत्रकार सम्मेलनका लागि ठाकुरगञ्ज थानाका इन्स्पेक्टर अश्विनी कुमार र सत्तारुढ भाजपाको ठाकुरगञ्जका अध्यक्ष गौरव गुप्ता, पत्रकार अमर रायलगायतले सहजीकरण गरेका थिए । त्यहाँ सत्तारुढ दल भाजपाका स्थानीय नेता अनिल मेहरा, भाजपाका नगर सचिव हरिकुमार पण्डितलगायतले सदियौंदेखि नेपाल र भारतबीच सुमधुर सम्बन्ध रहेको भन्दै नेपाल भ्रमण वर्षलाई सफल बनाउन सहयोग पुर्याउने प्रतिबद्धता जनाए ।
पत्रकारहरुले नेपालको पर्यटकीय क्षेत्रहरुका तस्वीर, भिडियो र जानकारीमूलक सूचनाहरु आदान–प्रदान गर्न नेपाली पत्रकारहरुसँग समन्वय गरिने बताएका थिए ।