कमल गाउँपालिकाका किसान व्यवसायिक आलु खेतीमा



बिर्तामोड– कमल गाउँपालिकाका किसानले सङ्गठित भएर व्यवसायिक आलु खेती गरेका छन् । अघिल्ला वर्षहरुमा छाक टार्नका लागि मात्रै आलु उत्पादन गर्ने काममा किसान सक्रिय थिए । प्रदेश र स्थानीय सरकारले आलुको बीउमा ५० प्रतिशतसम्म अनुदान दिएपछि व्यवसायिक खेतीमा किसानको जाँगर चलेको हो । कृषि ज्ञान केन्द्र झापामार्फत किसानले मल र बीउमा अनुदान पाएका छन् ।

आलुमा आत्मनिर्भर हुने गाउँपालिकाको नीति अनुसार किसानले समूहमा आवद्ध भएर खेती गरेको अगुवा किसान टंक कट्टेल बताउँछन् । गाँउपालिकाले आलुको बीउ र जैविक मलमा सहयोग गरेपछि उत्साहित भएका किसानले आइपिएम कृषि सहकारी संस्थामार्फत चालु आर्थिक वर्षमा ६५ विघा भन्दाबढी जग्गामा आलु रोपेको कट्टेलले बताए ।

भारत लगायतका मुलुकबाट आलुको आयात तीब्र भइरहँदा कमल गाउँपालिकाले भने आफैँ आत्मनिर्भर हुने गरी आलु खेतीका लागि किसानलाई प्रोत्साहित गरिरहेको छ । गाउँपालिकाको सहयोगपछि स्थानीय किसानले गतवर्ष सहकारीको माध्यमबाट ४० विघामा आलु रोपेका थिए । ‘यसवर्ष थप २५ विघामा आलु रोपिएको छ’, कट्टेलले भने, ‘बर्सेनि आलु खेतीको क्षेत्रफल बढ्दै गएको छ ।’

यसपटक नौवटा कृषक समूहका १६५ जना किसानले खेती गरेको कमल गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्राविधिक प्रेमप्रसाद पोखेरलले आगामी वर्ष १५० विघामा आलु रोप्ने गरी किसानलाई प्रोत्साहित गरिएको बताए । ‘आलु लगायतका तरकारी बालीमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ बर्सेनि आलु खेती विस्तार हुँदै गएको छ’, उनले भने, ‘किसानले माग अनुसार सीप, प्रविधि र प्राविधिक सहायता उपलब्ध हुन्छ ।’

किसानले आलु र आलुको बीउ उत्पादनसँगै आलु चिप्स पनि उत्पादन गर्ने भएका छन् । त्यसका लागि चाहिने एमएस जातको आलु भने रोप्न बाँकी रहेको अगुवा किसान कट्टेलले बताए । काठमाडौँबाट बीउ मगाइएकाले थप पाँच कठ्ठामा एमएस जातको आलु रोप्ने किसानको तयारी छ । किसानले गाउँमै चिप्स, आलुको बीउ उत्पादन गर्ने लक्ष्य राखेका छन् । आलु खेतीका लागि सहकारी संस्था आफैँले प्राङ्गारिक मल उत्पादन गरी सहकारीमा आवद्ध किसानलाई उपलब्ध गराउँदै आएको आइपीएम कृषि सहकारी संस्थाका अध्यक्ष याम राईले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत मेसिनरी औजारमा सहयोग पाएपछि आलु खेतीमा किसानको आकर्षण झन् बढेको हो । किसानलाई प्राङगारिक मलको प्रयोगमार्फत उत्पादकत्व बढाउने अभियानमा क्यारितास नेपालले प्राविधिक रुपमा सहयोग उपलब्ध गराइरहेको छ । आलु पकेट कार्यक्रम लागू भएपछि कमल गाउँपालिकाका किसानले मेसिनबाट आलु रोपेका छन् ।

मेसिनको प्रयोगले लागत मूल्य घटेपछि आलु खेतीमा किसानको आकर्षण झन् बढेको छ । किसानले उत्पादन गरेको आलुको भण्डारणदेखि बजारीकरणसम्मको काममा गाँउपालिकाले सघाउनेछ । किसानले यसवर्ष डेजिरे, कार्डिनल, खुमल, खुमल रातो लगायत उन्नत जातका आलुको बीउ रोपेका छन् । समूहमा आवद्ध किसानले गतवर्ष आलु खेतीबाट राम्रो आम्दानी गरेपछि कृषि ज्ञान केन्द्रले पनि सहयोग गर्न थालेको किसान पवित्रा अर्यालले बताइन् । यो वर्ष छ सय मेट्रिकटन आलु उत्पादन गर्ने लक्ष्य रहेको छ ।