बिर्तामोडमा आयकर सम्वन्धी तालिम सम्पन्न




बिर्तामोड- नेपाल उद्योग वाणिज्य महासंघ र आन्तरिक राजस्व विभागको आयोजना तथा बिर्तामोड उद्योग वाणिज्य संघको व्यवस्थापनमा दुई दिवसीय आयकर तथा मूल्य अभिबृद्घि कर सम्बन्धी तालिम बिर्तामोडमा सम्पन्न भएको छ ।

मुल्य अभिबृद्घि करमा दर्ता भएका व्यवसायी तथा ५० लाख रुपैयाँ भन्दाबढी कारोवार भएका करदातालाई लक्षित गर्दै आय कर तथा मूल्य अभिबृद्घि कर सम्बन्धी जानकारी दिने उद्देश्यले तालिम आयोजना गरिएको हो । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक धरणीधर खतिवडाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि महासंघका महानिर्देशक खतिवडाले बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष भट्टराईको अनुरोधमा महिला सशक्तिकरण अभियानमा नेपाल उद्योग वाणिज्य महासंघले सहयोग गर्ने आश्वासन दिएका छन् । कार्यक्रमको सहजीकरण चाटर्ड एकाउण्टेन्ट ज्ञानेन्द्रबहादुर भारी र दिलमान चन्दले गरेका थिए । उनीहरुले सहभागीहरुलाई आय कर तथा मूल्य अभिबृद्घि कर सम्वन्धी ऐन, कानून, कर तिर्दाका फाइदा वेफाइदा लगायतका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा आन्तरिक राजश्व विभागका हितेश बस्नेतले सरकारले लागू गरेको भिसिटीएस प्रणाली सम्वन्धी जानकारी गराएका थिए । त्यस्तै आन्तरिक राजश्व कार्यालय मेचीका प्रमुख युवराज श्रेष्ठले व्यवसायीलाई कर तिर्न आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपनिर्देशक विष्णु ढकालले साना तथा मझौला व्यवसायीहरुलाई आय कर तथा मूल्य अभिबृद्घि कर सम्वन्धी जानकारी गराउने उद्देश्यले मेचीदेखि महाकालीसम्म तालिमको आयोजना गरेको बताए । तालिमका सहभागीलाई प्रमाणपत्र प्रदान गरेको कार्यक्रमको सञ्चालन बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव भेषराज भण्डारी प्रशान्तले गरेका थिए ।